२५ जेठ २०८३, सोमबार

किसानका मिर्गाैलामा समस्या

कात्तिक २९, २०७४
किसानका मिर्गाैलामा समस्या

बुटवल, २९ कात्तिक (रासस) ः शरीरमा पानीको मात्रा पर्याप्त नहुनु र लामो समयसम्म खेतबारीमा काम गर्ने कारणले रुपन्देहीका अधिकांश किसानमा मिर्गाैलाको समस्या देखिएको छ । 

खेतबारीमा काम गर्दा लामो समयसम्म शरीरलाई चाहिने पर्याप्त पानी नपिउने र लगातार काम गर्दा शरीरमा रहेको पानी पसिनाका माध्यमबाट बाहिरिने हुँदा पानीको मात्रा कम भएर मिर्गाैलामा संक्रमण देखिएको हो । 

स्वास्थ्य मन्त्रालय र नेपाल किडनी फाउन्डेशन काठमाडाँैंको आयोजना तथा ब्रिज अफ लाइफ अमेरिकाको सहयोगमा रुपन्देहीका विभिन्न स्थानमा सञ्चालित निःशुल्क मिर्गाैला परीक्षण शिविरमा झण्डै १८ प्रतिशत व्यक्तिका मिर्गाैलामा समस्या देखिएको फाउन्डेशनका अध्यक्ष डा शक्ति बस्नेतले जानकारी दिनुभयो । 

खासगरी किसान केन्द्रित सो शिविरमा लक्षित वर्गमा मुख्यतया जनचेतनाको मुख्य समस्या रहेको उहाँले बताउनुभयो । जनचेतनाको अभावमा अधिकाँश ५० वर्ष भन्दामाथि उमेर समूहका व्यक्तिका मिर्गाैलामा समस्या देखिएको छ । “ग्रामीण क्षेत्रका सर्वसाधारणमा मिर्गाैला स्वस्थ राख्नुपर्ने विषयमा जनचेतनाको अभावसँगै मानिसको दैनिक खानपिन र बानीव्यवहारमा सुधार नहुनु र अनावश्यक तनाव जस्ता कारणले उच्च रक्तचाप र मधुमेहको समस्या धेरैमा देखिएको छ”, डा बस्नेतले भन्नुभयो । 

उच्च रक्तचाप र मधुमेहको समस्या भएका अधिकांश बिरामीको मिर्गौलामा संक्रमण देखिएको छ । मानिसले मिर्गाैला स्वस्थ राख्न पानी तथा झोल पदार्थ बढी पिउने, खानपानमा ध्यान दिने र नियमित रक्तचाप, मधुमेह र मिर्गाैलाको परीक्षण गराउनु जरुरी रहेको सुझाव दिइएको छ । 

रुपन्देहीको बुटवल उपमहानगरपालिका– १३ र १४ को नयाँ गाउँमा दुई दिन र तिलोत्तमा नगरपालिकाको कोटिहवामा दुई दिन शिविर सञ्चालन गरिएको थियो । 
उहाँले रुपन्देहीका तीन स्थानमा सञ्चालित शिविरबाट झण्डै एक हजार दुई सय जनाले निःशुल्क सेवा प्राप्त गरेको र सोक्रममा बिरामीलाई रोगअनुसारको निःशुल्क औषधि वितरण गरिएको थियो । सर्वसाधारणलाई मिर्गाैलाको निःशुल्क परीक्षणसंँगै मिर्गाैला स्वस्थ राख्न जनचेतना जगाउने उद्देश्यले फाउन्डेशनले देशका ग्रामीण क्षेत्रमा निःशुल्क शिविर सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक गणेश उप्रेतीले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्