२५ असार २०८३, बिहीबार

संविधान संशोधन प्रमुख दलहरूको सहमतिमै हुन्छ : सञ्चारमन्त्री गुरुङ

पुस १३, २०८१
कास्की
संविधान संशोधन प्रमुख दलहरूको सहमतिमै हुन्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरूसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।​ 

माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्‌घाटन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गरिने उनको भनाइ छ ।

उनले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताए ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले भने, 'सरकारमा रहेका प्रमुख दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ । यस संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्नु हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरू शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुङ्गो लगाउने सरकारको योजना छ ।' 

सञ्चारमन्त्रीले प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन चाँडै निर्माण गर्न प्रक्रियागत काम सरकारले अघि बढाएको जानकारी दिए ।

उनले ज्येष्ठ नागरिकका लागि सेवा केन्द्र स्थापना हुनु सकारात्मक हो भन्दै केन्द्र सञ्चालनका लागि सरकारका तर्फबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

'ज्येष्ठ नागरिकको हकहित र अधिकार संरक्षण गर्न  सरकार प्रतिबद्ध छ,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्