०९ साउन २०८३, शनिबार
सरसर्ती २४ घण्टा

त्रिविका १४ हजार विद्यार्थी दीक्षितदेखि बेइजिङमा भएको सहमतिमा विप्लवको आपत्तिसम्म

पुस १४, २०८१
काठमाडौं
त्रिविका १४ हजार विद्यार्थी दीक्षितदेखि बेइजिङमा भएको सहमतिमा विप्लवको आपत्तिसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासनका लागि भ्रष्टाचारविरुद्ध आन्दोलन निरन्तर अगाडि बढाइने बताएका छन् । 

कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित भ्रष्टाचारविरुद्ध खबरदारी सभामा उनले अठार महिनाको अवधिमा सरकारमा रहँदा पनि भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान थालनी गरिएको बताए ।
००००
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको छ । 

स्वास्थ्य प्रतिकुल बनेपछि केही दिनयता उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको हो । 
सो पार्टीका कार्यबाहक महासचिव सीपी गजुरेलले शनिबार जारी गरेको विज्ञप्तिमा वैद्यका अवस्था स्थिर रहेको उल्लेख छ । 
वैद्यका दमसम्बन्धी समस्याबाट पीडित छन् ।
००००
श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे शनिबार नेपाल भ्रमणमा आएका छन् । उनी निजी भ्रमणका लागि नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।
००००
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेबाट भीम रावललाई निष्कासित गर्ने कार्य केपी ओलीको निरङ्कुशताको पराकाष्ठा भएको बताएका छन्।

 चाकरी गर्ने ओलीका मित्र र पार्टीको नीति,विधि र पद्धतिमा हिँड्ने स्वाभिमानी नेता–कार्यकर्ता उनका दुष्मन हुने विषय नौलो नभएको बताउँदै भुसालले भने,“भीम रावल एक राष्ट्रवादी र स्वाभिमानी नेता भएकोले ओलीले राजनीतिक प्रतिशोध साँधे ।” भुसालले नेता रावललाई आफ्नो पार्टीमा स–सम्मान स्वागत गर्न तयार रहेको पनि बताए ।
००००
राप्रपा अध्यक्ष लिङ्देनले सम्पत्ति शुद्धीकरणको हतियार चलाइए ठुला दलका कोही जोगिन नसक्ने बताएका छन् ।
 राप्रपा कोशी प्रदेश समितिले शनिबार इटहरीमा आयोजना गरेको बृहत् विरोध सभामा अध्यक्ष लिङ्देनले रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलिसकेको भन्दै अब दाप बाहिर आइसकेकाले रोकिन नहुने बताए ।
००००
नेकपा एमालेका नेताद्वय प्रदीपकुमार ज्ञवाली र गोकर्णराज विष्टले अहिले मुलुकमा भ्रामक र पूर्वाग्रही हल्ला गरेर समाजमा विग्रह ल्याउने दुष्प्रयास भइरहेको बताएका छन् । 

पार्टीको गुल्मी–रुपन्देही सम्पर्क मञ्चको कार्यक्रममा शनिबार बुटवलमा सहभागी भएका नेताद्वयले भ्रामक हल्ला र गालीगलौज गरेर नकारात्मकता फैलाउनेहरूको प्रतिवाद गर्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन् ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रूपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त ज्ञान प्रयोग गर्न आग्रह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको शनिबार आयोजित  ५०औं दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति प्रधानमन्त्री ओलीले समाजलाई लोकतान्त्रिक, सु–संस्कृत र इमानदारपूर्ण बनाउन र विद्यावान् हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन पनि आग्रह गरे ।
यसैबीच त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् ।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित ५०औं दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।
००००
सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको हो । 
००००
विप्लव नेतृत्वको नेकपाले चीन र भारतका अधिकारीहरूबिच पुस ३ गते बेइजिङमा भएको सहमतिप्रति आपत्ति जनाएको छ । शनिवार सो पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सो सहमतिप्रति आपत्ति जनाउँदै आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘चीन र भारतका अधिकारीहरूबिच पुस ३ गते बेइजिङमा सन् २०१५ मा सहमति भएर कोभिड १९ का कारण बन्द भएको लिपुलेक भन्ज्याङ भएर तीर्थयात्री र व्यापारिक मार्ग पुनः सञ्चालन गर्ने भनी भएको सहमतिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्