
काठमाडौं महानगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को प्रारम्भिक नतिजामा अहिलेसम्मकै उच्च अंक पाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमार्फत यस्तो अंक दिने गरेको छ ।
आइतबार बसेको महानगरको १६ औं नगरसभा अधिवेशनमा उपमेयर सुनिता डंगोलले लिजामा काठमाडौं महानगरले ८२ दशमलव ७५ अंक प्राप्त गरेको जानकारी गराएकी हुन् ।
‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को प्रारम्भिक नतिजामा काठमाडौं महानगरले ८२ दशमलव ७५ अंक प्राप्त गरेको छ । यो अंक महानगरले पाएको हालसम्मकै उच्च अंक हो,’ डंगोलले भनिन् ।
मेयर बालेन्द्र साह (बालेन)को नेतृत्वमा भएका सुधारका कामपछि यो अंक बढेको हो ।
२०७९ वैशाखदेखि बालेन काठमाडौंको मेयर छन् । लिजामा अहिलेसम्मकै बढी अंक पाएको भन्दै जनप्रतिनिधिले नेतृत्वको प्रशंसा गरेका थिए ।
नगरसभामा उपमेयर डंगोलले चालू आर्थिक वर्षको बजेट पुस ११ गतेसम्म १६ दशमलव १० प्रतिशत कार्यान्वयन भएको जानकारी दिइन् ।