
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वस्थ शरीरका लागि खेलकुद महत्त्वपूर्ण रहेको बताएका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन केन्द्रीय समितिद्वारा आज आयोजित प्रजातन्त्रवादी खेलाडी तथा खेलप्रेमीहरूको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
'स्वस्थ शरीरमा स्वस्थ दिमाग चाहिन्छ भने जस्तै स्वस्थ शरीरका लागि पनि खेलकुदको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ,' उनले भने ।
सभापति देउवाले खेलकुद क्षेत्रमा युवा खेलाडीको बाहुल्यता धेरै हुने हुँदा उनीहरूको वृत्ति विकासमा खेल र व्यायामको महत्त्वपूर्ण भूमिका रहने बताए ।
युवा र खेलकुदका विषयलाई पार्टीले प्राथमिकतामा राखेको उनको भनाइ छ । सभापति देउवाले देशको विभिन्न ठाउँमा सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्डलाई प्रभावकारी रुपमा निरन्तरता दिनुपर्नेमा जोड दिए ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले देशका लागि पसिना बगाउने खेलाडीका परिवारको शिक्षामा सहयोग गर्न आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्नेबारे छलफल भइरहेको बताए ।