२३ असार २०८३, मंगलबार

वन समितिका पदाधिकारीकै मिलेमतोमा काठ बिक्री !

पुस १५, २०८१
विराटनगर
वन समितिका पदाधिकारीकै मिलेमतोमा काठ बिक्री !

मोरङको बेलबारी नगरपालिका-१० स्थित सृजना सामुदायिक वन समितिका पदाधिकारीकै मिलेमतोमा काठ बिक्री गरिएको भन्दै स्थानीयले एक ट्याक्टर गोलिया नियन्त्रणमा लिएका छन् ।
 
उपभोक्ताको नाम देखाएर समितिकै पदाधिकारीले काठ मिललाई बिक्री गर्न लागेको भन्दै एक ट्याक्टर गोलिया स्थानीयले सोमबार दिउँसो नियन्त्रणमा लिएका हुन् । 

एक महिना अगाडि सामुदायिक वनले चार जना उपभोक्तालाई १६९ क्यूफिट सिसौ र कर्माको काठ बेचेको बिक्री पुर्जी बनाएको थियो । बेलबारी-७ बाहुनस्थित गणेश काष्ठ उद्योगमा बिक्री गर्न लैजाने क्रममा स्थानीयले उक्त काठ बरामद गरेका हुन् ।

सामुदायिक वनले बेलबारी-१० की शोभा भुर्तेलसहित चार जना उपभोक्तालाई १६९ क्यूफिट पुरानो काठ बिक्री गरेको जनाएको छ  । तर, उपभोक्ता भुर्तेल भने आफूले काठ खरिद नगरेको बताउँछिन्। उनले दाउरा मात्रै खरिद गरेको बताएपछि स्थानीयले काठ नियन्त्रणमा लिएका हुन् ।

‘वन समितिको मिलेमतोमा काठ उद्योगलाई बिक्री गर्न लैजाने क्रममा हामीले बरामद गरेको हो,’ बेलबारी-८ को धीरनाथ स्यामफुल माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पंकज राजवंशीले भने, ‘एक महिना अगाडि एउटा मिलमा काठ ल्याएर राखिएको रहेछ । आज त्यहाँबाट उठाएर अर्को मिलमा लाँदै गरेको थाहा पाएपछि नियन्त्रणमा लिएका हौं ।’

बरामद गरेको काठ अनुसन्धानका लागि डिभिजन वन कार्यालय बेलबारीमा बुझाइएको उनले बताए । सव डिभिजन वन कार्यालय बेलबारीका सहायक वन अधिकृत दीपेश मिश्रले स्थानीयले नियन्त्रणमा लिएको काठको बारेमा अनुसन्धान भइरहेको बताए । 

‘काठ हेर्दा पुरानो रहेको छ । वन समितिले पनि उपभोक्तालाई काठ बिक्री गरेको भनेका छन् । यस विषयमा हामीले अनुसन्धान शुरू गरेका छौं’, उनले भने, ‘अनुसन्धान पूरा गरेपछि मात्रै यथार्थ के हो भन्ने बुझ्न सकिन्छ । अहिले नै केही भन्न सक्ने अवस्था छैन ।’

यता सृजना सामुदायिक वनका अध्यक्ष देउमान लिम्बुले समितिको नियम अनुसार उपभोक्तालाई एक महिना अगाडि काठ बिक्री गरेको दाबी गरे । यस अगाडि पनि उक्त वन समितिमा अनियमितता भएको सार्वजनिक भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्