१६ असार २०८३, मंगलबार

दुई प्रदेश जोड्दै कालीगण्डकीमा बन्यो पक्की पुल

पुस १८, २०८१
गुल्मी
दुई प्रदेश जोड्दै कालीगण्डकीमा बन्यो पक्की पुल

कालीगण्डकी नदी माथि पक्की पुल निर्माण भएको छ । गुल्मी र पर्वत जोड्ने पक्की पुल निर्माण भएसँगै दुई वटा प्रदेशका नागरिकलाई सहज बनेको छ ।

 लुम्बिनी प्रदेशअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेशअन्तर्गत पर्वतको विहादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदी माथि पक्की पुल निर्माण गरिएको हो ।  

    पुल निर्माणपछि दुईवटै प्रदेशका नागरिकमा खुसी थपिएको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताए । एक सय २६ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको उक्त कूल रु १४ करोडको लागतमा निर्माण सम्पन्न भएको हो । 
    
सिमलटारी–प्यूठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्राली काठमाडौँबीच गत आठ वर्षअघि उक्त पुल निर्माणको सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माण व्यवसायीले २०७६ चैत ३० मा हस्तान्तरण गर्नुपर्ने थियो । तर समयमै निर्माण व्यवसायीले काम सम्पन्न नगरेपछि उक्त कार्यालय खारेज भएसँगै मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीमार्फत रोकिएको काम सुरु भएको थियो । त्यसपछि सडक डिभिजन कार्यालय पाल्पामार्फत कार्यान्वयन हुनेगरी पुल निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए। उनले पुल निर्माणको काम सम्पन्न भए पनि बजेट अभावका कारण सडक डिभिजन कार्यालय पाल्पाबाट निर्माण व्यवसायीलाई अझै रु तीन करोड ८५ लाख भुक्तानी गर्न बाँकी रहेको जानकारी गराए ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सांसद डा चन्द्र भण्डारीले पक्की पुल निर्माणले दुई पालिका, जिल्ला र प्रदेशसँगै विकासको आयामलाई पनि जोडेको बताए । 

    कालीगण्डकी करिडोरले भारत र चीनलाई जोड्ने भएकाले मुख्य गरी कोरला नाकामा पुग्न र उत्पादित सामग्री निर्यात गर्न थप सहज पुग्ने उल्लेख गर्दै सांसद डा भण्डारीले यसको फाइदा कालीगण्डकी र विहादीवासीले लिनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्