१५ असार २०८३, सोमबार

अमेरिकामा नयाँ वर्षकै दिन आतंकवादी आक्रमण : आक्रमणकारी आईएसआईएसको सदस्य भएको दाबी

पुस १९, २०८१
काठमाडौं
अमेरिकामा नयाँ वर्षकै दिन आतंकवादी आक्रमण : आक्रमणकारी आईएसआईएसको सदस्य भएको दाबी
Photo : Matthew Hinton/AFP

सन् २०२५ को पहिलो दिन अमेरिकाको न्यू ओर्लियन्सको बोरबन स्ट्रिटमा भएको आतंककारी आक्रमणमा १४ जनाको मृत्यु भएको छ । अमेरिकाको संघीय जाँच ब्यूरो (एफबीआई)ले उक्त घटना आतंकवादसँग जोडिएको बताएको छ ।

जनवरी १ का दिन एक व्यक्तिले भीडमा पिकअप ट्रक जथाभावी चलाएपछि १४ जनाको मृत्यु भएको हो भने ३६ भन्दा बढी मानिस घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।​

एफबीआईका अनुसार, आक्रमणकारीले पहिले बोरबन स्ट्रिटमा जथाभावी भीडमाथि ट्रक चलाएका थिए ।

उक्त आक्रमणको केही घण्टा अघि उनले फ्रेन्च क्वार्टर क्षेत्रमा दुई आइस कुलरमा विस्फोटक पदार्थ पनि राखेको भेटिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले एफबीआईको रिपोर्टलाई उद्धृत गर्दै भने, 'आक्रमणकारीले आफ्नो गाडीमा रिमोट डिटोनेटर राखेर ती कुलरहरू विस्फोट गर्न योजना बनाएका थिए ।'

आक्रमणपछि आक्रमणकारी र प्रहरीबीच गोली हानाहान भएको थियो, जसमा आक्रमणकारीको मृत्यु भयो ।​

आक्रमणकारीको पहिचान टेक्सासका एक पूर्व सैनिकको रूपमा गरिएको छ । उनी आफ्नो ट्रकमा आईएसआईएसको झण्डा बोकेका थिए । घटनाभन्दा अघि उनले बनाएको भिडियोमा आफू आईएसआईएसको सदस्य भएको र यो आक्रमणको उद्देश्य ‘आफ्नो विचारधारा’ फैलाउनु भएको बताएका थिए ।​

एफबीआईले यो आक्रमण पूर्णरूपमा आक्रमणकारीको एकल प्रयासबाट भएको जनाएको छ । यो आक्रमणमा कुनै विदेशी समूहको प्रत्यक्ष निर्देशन वा सहकार्यको प्रमाण अहिलेसम्म फेला नपरेको एफबीआईले जनाएको छ ।

न्यू ओर्लियन्सको यो आक्रमणको केही घण्टापछि लस भेगासस्थित नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको होटल बाहिर टेस्ला साइबर ट्रक विस्फोटको अर्को घटना पनि भएको थियो । यद्यपि, एफबीआईले यी दुई घटनाबीच प्रत्यक्ष सम्बन्ध भएको कुनै प्रमाण फेला परेको छैन ।

राष्ट्रपति बाइडेनले यो आक्रमणलाई कडा शब्दमा निन्दा गर्दै अमेरिकी सुरक्षा एजेन्सीलाई थप सतर्क रहन निर्देशन दिएका छन् ।

उनले भनेका छन्, 'यस प्रकारका आतंकवादी गतिविधिले हाम्रो समाजलाई धम्क्याउन सक्दैन । दोषीहरूको पृष्ठभूमि र यस आक्रमणका सम्पूर्ण कारणको छानबिन जारी राखिनेछ ।'

आक्रमणपछि न्यू ओर्लियन्सका बासिन्दाहरूमा त्रास फैलिएको छ । स्थानीयहरूले सार्वजनिक स्थानमा सुरक्षाका थप उपायहरू लागू गर्न माग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्