
गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनका बीच परिणाममुखी काम गर्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन्।
गृह मन्त्रालयले शुक्रबार आयोजना गरेको जिल्ला सुरक्षा समितिको भर्चुअल बैठकमा गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्यूनीकरण चुनौतीका रूपमा रहेको बताउँदै सीमित स्रोत साधनका बीच पनि गम्भीर भएर काम गर्न निर्देशन दिए ।
'अहिले चुनौतीका रूपमा देखा परेका तीन वटै विषय एक–अर्कासित सम्बन्धित छन्,' उनले भने, 'त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस् ।'
सीमामा हुने अपराध, चोरीसिकारी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण र आर्थिक अनियमिततामा शून्य सहनशिलताको नीति अपनाउन उनले आग्रह गरे ।
मन्त्रालयले कानूनी, नीतिगत र संरचनात्मक सुधारका कामहरू अगाडि बढाएको बताउँदै मन्त्री लेखकले सोहीअनुसार कामको गुणस्तर बढाएर जानुपर्नेमा जोड दिए ।
'शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी हामीसित छ,' उनले भने, 'विकास, समृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्ति सुरक्षा हुनैपर्छ ।'
त्यसैगरी गृहसचिव गोकर्णमणि दुवाडीले नतिजा देखिनेगरी काम गर्न निर्देशन दिए ।
उनले सेवाप्रवाह प्रभावकारी बनाउन जोड दिँदै गुनासोरहित सेवाप्रवाहमा ध्यान दिन जोड दिए ।
भर्चुअल बैठकमा सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयको विभिन्न महाशाखाका प्रमुख र देशभरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सहभागी थिए ।