१२ असार २०८३, शुक्रबार

ईश्वर पोखरेलद्वारा लिखित संस्मरणात्मक कृति विमोचन​

पुस १९, २०८१
काठमाडौं
ईश्वर पोखरेलद्वारा लिखित संस्मरणात्मक कृति विमोचन​

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य लेखनमार्फत सर्जकले आफ्ना सृजना देश र जनताका लागि खर्चनुपर्ने बताएकी छिन् । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित ‘आमा, सपना र  ताराहरू’ संस्मरणात्मक कृतिको आज विमोचन गर्दै उनले साहित्य लेखनलाई राजनीति, आर्थिक र सामाजिक परिवर्तनसँग जोडेर लैजानुपर्ने आवश्यकता औंल्याएकी हुन् ।​

'सर्जक पोखरेलले विभिन्न पत्रपत्रिकामा सैद्धान्तिक, वैचारिक लेख तथा साहित्य संस्मरणमार्फत मुलुकको राजनीतिक परिवर्तन, पार्टी एकता, सङ्गठन सुदृढीकरण र वैचारिक धार प्रबल बनाउन महत्त्वपूर्ण योगदान दिनुभएको छ,' ​पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपतिहरूलाई बाँकी जीवन राजनीतिमा पुनरागमन गर्नुभन्दा सामाजिक परिवर्तनको नेतृत्व गर्न आग्रह गरे ।

उनले भने, 'गरिबी र पतीवियोगमा रहनुभएकी आफ्नी आमाको प्रेरणाबाट पोखरेल राजनीति क्षेत्रमा अहिलेको अवस्थामा आइपुग्नुभएको हो । उहाँकी आमाले त्यसबेला पनि छोरा ईश्वरको अन्तरजातीय विवाहलाई सहजै स्वीकार्नुभयो । उहाँमा मुखले बोलेर कसैलाई चित्त दुखाउन हुन्न भन्ने भावना थियो ।'

नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले कृतिमा एक सय वर्षको बदलिँदो नेपाली समाज, पारिवारिक सङ्गठन र विघटन, जलवायु परिवर्तनका कारणले भएका बसाइँसराइलगायत समसामयिक र वास्तविक पक्षलाई समेटिएको बताए ।

उनले भने, 'अहिले अभ्यासमा रहेको राजनीति र लोकतन्त्र सित्तैमा आएको होइन, नेपाली समाज वर्तमान अवस्थामा आइपुग्न धेरै आमाहरू र ईश्वर पोखरेलजस्ता योद्धाको ठूलो सङ्घर्ष र बलिदानपूर्ण सङ्घर्ष छ । उहाँहरू सर्वकालीन र सार्वभौम हुनुहुन्छ ।' 

यसअघि वरिष्ठ उपाध्यक्ष पोखरेलका ‘पूर्वको रातो तारा’, ‘माघ १९’ लगायत कृति प्रकाशित छन् ।

salt training

कमेन्ट गर्नुहोस्