
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई, संस्कृति र पर्यटन नीति बनाउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
प्रतिनिधिसभा मातहतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले विभिन्न धर्मावलम्बीको आस्थासँग जोडिएका मठ, मन्दिर, गुम्बा, चैत्य र चर्च निर्माणमा के-कति सहयोग गर्ने भन्नेबारे तीन तहका सरकारबीच समन्वय र मापदण्ड तर्जुमाको खाँचो औंल्याएका हुन् ।
बैठकमा नेपाल पर्यटन बोर्डको कार्यसम्पादन, विद्यमान समस्या र समाधानका उपायबारे छलफल भएको थियो । मन्त्री पाण्डेले भने, 'पर्यटन बोर्ड पर्यटन क्षेत्रको थिङ्कट्याङ्क हो । पूर्वाधारभन्दा पर्यटन प्रवर्द्धनमा यो केन्द्रित छ । अरु क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा पनि ‘हुन्छ भन्ने तर चित्त बुझाउन नसक्ने’ प्रवृत्तिले काममा बाधा पुर्याइरहेको छ ।'
बोर्डले आफूलाई गतिशील तुल्याउने र प्रतिफलको मूल्याङ्कन गर्ने प्रणाली विकास गर्नुपर्ने आवश्यकतामा जोड दिँदै मन्त्री पाण्डेले तीन तहका सरकारको सहयोग र समन्वयमा आफ्नो कार्य जिम्मेवारीको प्राथमिकतासम्बन्धी प्राथमिकीकरण गर्न सुझाव दिए ।
मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले मुलुकको पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने गाउँ तहदेखि केन्द्रीय सरकारसम्मका प्रतिनिधिले जवाफदेही भएर अतिथिको सेवा र सत्कारमा जुट्नुपर्ने आवश्यकता औंल्याए ।