
भारतको सिउरी प्रहरी चौकीमा एउटा अनौठो घटना घटेको छ। बीरभूमको मोहम्मद बजार क्षेत्रमा एक युवकले आफ्नी पत्नीलाई सरप्राइज दिन ‘आमार भालोबासा सिउरी’ (मेरो प्रिय सिउरी) लेखिएको नगरपालिकाको साइन बोर्ड चोरी गरे।
तर, घर पुर्याउनु अघि नै बोर्ड फुट्यो। यसैबीच, प्रहरीले उनलाई पक्राउ गर्यो। जब युवकले यस्तो अनौठो चोरीको कारण सुनाए, प्रहरी र नगरपालिकाका अध्यक्षको मन पग्लियो।
प्रहरीले युवकलाई सजाय दिनुको सट्टा उनको भावना बुझ्दै मद्दत गर्ने निर्णय गर्यो। सिउरी थानाका अधिकारीहरू र नगरपालिकाका अध्यक्षले गुलाबको फूलको गुच्छा किनेर युवकलाई दिँदै भने- गएर पत्नीलाई दिनू ।
थानाको बाहिर युवकले आफ्नी पत्नीलाई गुलाबको फूल उपहार दिए । उनको खुट्टा छुँदै माफी मागे र भविष्यमा कहिल्यै चोरी नगर्ने कसम खाए ।
यस्तो थियो चोरीको घटना
२४ डिसेम्बरको राति सिउरी नगरपालिकाका अध्यक्षले सिउरी थानामा ‘आई लभ यू सिउरी’ लेखिएको एलईडी साइन बोर्ड चोरी भएको रिपोर्ट गरे।
त्यसपछि प्रहरीले अनुसन्धान शुरू गर्यो र मोहम्मद बजार क्षेत्रबाट संदिग्ध युवकलाई पक्राउ गर्यो। सोधपुछका क्रममा युवकले पत्नीलाई खुशी पार्न बोर्ड चोरी गरेको बताए। तर, घर पुर्याउनुअघि नै बोर्ड फुटिसकेको बताए ।
युवकको कथा सुनेपछि सिउरी प्रहरीले उनलाई रिहा मात्र गरेन, उनको प्रेमलाई सम्मान गर्दै पत्नीलाई गुलाबको फूल दिने व्यवस्था गर्यो। नगरपालिकाका अध्यक्षले यो घटना आफ्नो राजनीतिक जीवनमा देखिएको सबैभन्दा अनौठो चोरी भएको बताए।
यो घटना स्थानीयवासीहरूका लागि चासोको विषय बन्यो। प्रहरीले देखाएको मानवीय दृष्टिकोण र युवकको इमानदारीले सबैको मन जित्यो। यस घटनाले प्रमाणित गर्यो कि प्रेम व्यक्त गर्नका लागि साधनभन्दा इरादा महत्त्वपूर्ण हुन्छ।
प्रहरी र सिउरी नगरपालिकाले समाजलाई यो सन्देश दिएका छन् कि कानूनको पालना महत्त्वपूर्ण छ । तर, मानवीयताको लागि स्थान सधैं रहनुपर्छ। युवकलाई गल्तीको महसुस गराउँदै प्रेमको सम्मान गर्दै उनीहरूले उदाहरण प्रस्तुत गरेका छन्।