
सार्वजनिक पर्ती र नदी उकास जग्गामा अतिक्रमण बढ्न थालेपछि वन सम्बद्ध कार्यालय र सुरक्षा निकायले अतिक्रमण हटाउने अभियान शुरू गरेका छन् । महोत्तरीको बर्दिबास–४ वरडाँडामा तारबार लगाएर व्यक्तिले कब्जा गरेको करिब एक बिघा जग्गा वन सवडिभिजन कार्यालय गणन्ता र सशस्त्र वन सुरक्षा शाखाले तारबार भत्काइ अतिक्रमण हटाएका हुन् ।
नदी उकास क्षेत्रको जग्गा बर्दिबास–४ का मोहित तामाङले घेराबार लगाएका थिए । नदी उकास जग्गा घेराबार गरी टहरा बनाउने, बाली लगाएर कब्जा गर्ने प्रवृत्ति बढेपछि यस्ता जग्गाको पहिचान गरेर अतिक्रमण हटाउने अभियान थालिएको वन सवडिभिजन कार्यालय गणन्ता (महोत्तरी)का वन अधिकृत सिकेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
शनिबार थालिएको यो अभियानलाई निरन्तरता दिइने वन सव डिभिजन कार्यालय गणन्ताले जनाएको छ । 'अहिले अतिक्रमण गर्नेलाई चेतावनी दिइएको छ, यस्तो घटना दोहोरिए वन ऐनअनुसार कारबाही गरिन्छ,' उनले भने ।
बर्दिबास नगरक्षेत्रमा सयौं बिघा पर्ती र नदी उकास जग्गा छन् । यसै अभियानका क्रममा अतिक्रमणको पहिचान गरी हटाइने वन अधिकृत चौधरीको प्रतिबद्धता छ ।
यस्ता जग्गामा वृक्षारोपण गरेर चुरेक्षेत्रमा हरियाली प्रवर्द्धन गरिन पर्ने वातावरणविद्हरूको सुझाव छ ।
चुरे नजिकका पर्ती, नदी उकास र भिरालो जग्गामा माटो परीक्षणबाट उपयुक्त ठहरिने वृक्षारोपण गरिए भूक्षय न्यूनीकरण हुनेसँगै हरियाली प्रवर्द्धन हुने चुरे संरक्षण अभियानमा जुट्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष चुरे विज्ञ नागदेव यादवको भनाइ छ ।