
काठमाडौं, ३० कात्तिक — अफ्रिकी मुलुक जिम्बाब्वेमा सेनाले सत्ताकब्जा गरेको छ । देशको सत्तारूढ दलले रक्तपात नभइकनै सत्ता परिवर्तनपछि राष्ट्रपति रोबर्ट मुगाबेलाई हिरासतमा लिइएको दाबी गरेको छ ।
सेनाले मुगाबे सुरक्षित रहेको बताएको छ ।
यसअघि सेनाद्वारा सरकारी सञ्चारमाध्यम जेडबीसीको मुख्य कार्यालय कब्जा गरेको खबर आएको थियो । राजधानी हरारेका केही ठाउँमा बम विस्फोट र बेस्सरी गोली चलेको आवाज सुनिएको छ । विस्फोटको कारण प्रस्ट हुन सकेको छैन ।
जिम्बाब्वेका ९३ वर्षीय राष्ट्रपति मुगाबेले घटनाक्रममा कुनै प्रतिक्रिया दिएका छैनन् ।
मुगाबेले अघिल्लो साता उत्तराधिकारका विषयमा कलह हुँदा उपराष्ट्रपतिलाई बर्खास्त गरेका थिए ।
तर सैन्य जर्नेल कन्स्ट्यान्टिनो चिवेंगाले उपराष्ट्रपतिलाई बर्खास्त गरेकोमा मुगाबेलाई चुनौती दिएका थिए ।
जिम्बाब्वेमा राजनीतिक संकट गहिरिँदै जानुमा उत्तराधिकारसँग जोडिएको कलह नै कारण हो । सन् १९७० को दशकदेखि देशको स्वतन्त्रता लडाईंका चिरपरिचित अनुहारका रूपमा हेरिएका उपराष्ट्रपतिलाई मुगाबेले हटाएपछि विवाद जन्मेको हो ।
मुगाबे अहिले संसारका सबभन्दा वृद्ध राष्ट्रपति हुन् । जिम्बाब्वेको पहिलो सरकारमा उनले पार्टी प्रमुख र प्रधानमन्त्रीको जिम्मेवारी लिएका थिए ।
धेरै वृद्ध भइसकेका मुगाबेको स्वास्थ्य पनि खराब छ । उनीपछि सत्तामा को बस्ने भन्ने विषयमा विवाद छ । उनी कुनै हालतमा सत्ता त्याग्न चाहँदैनन् र अहिले उनले श्रीमतीलाई आफ्नो उत्तराधिकारी बनाउन चाहेका छन् ।
सन् २००८ मा उनले पर्याप्त मत नल्याएपनि पदबाट भगवानले मात्र आफूलाई हटाउनसक्ने बताएका थिए ।
रोबर्ट मुगाबेको व्यक्तित्व बुझ्नका लागि सन् १९७० को गुरिल्ला युद्धतर्फ फर्किनुपर्ने हुन्छ । त्यतिखेर मुगाबेले नाम कमाएका थिए ।
त्यसबेलामा मुगाबे एक क्रान्तिकारी नायकका रूपमा हेरिन्थे । त्यसैले पनि धेरै अफ्रिकी नेताहरू मुगाबेको निन्दा गर्न चाहँदैनन् ।
तर जिम्बाब्वे स्वतन्त्र भएयता संसार धेरै अघि बढिसकेको छ तर मुगाबेमा अझै पनि त्यतिखेरकै मानसिकता छ ।
मुगाबेको पार्टी जनू पीएफले साम्राज्यवाद र पूँजीवादसँग संघर्ष गरिरहेको बताउँछ ।
जिम्बाब्वेको खराब आर्थिक स्थितिका लागि पश्चिमी देशहरू जिम्मेवार रहेको उनीहरूको ठहर छ ।
अनि मुगाबे पश्चिम मुलुकहरूले आफूलाई अपदस्थ गर्ने षड्यन्त्र गरेको मान्यता राख्छन् ।
मुगाबेले देश कहिले पनि टाट पल्टिन नसक्ने घोषणा गरेका थिए । तर देशमा भारी इन्फ्लेसन र आर्थिक संकट ल्याएर उनले आफ्नो सिद्धान्तको परीक्षण गरे ।
कुनै समयमा जिम्बाब्वेको अर्थव्यवस्था राम्रो थियो । अफ्रिकाकै सबभन्दा विविधतापूर्ण अर्थव्यवस्थालाई उनले ध्वस्त पारे । उनले अंग्रेजहरूको जमीन खोसे जबकि ती जमीन अर्थव्यवस्थाको मेरुदण्ड थिए ।
सन् २००० मा एक जनमत संग्रहमा मुगाबेको हार भयो । त्यतिखेर उनले भूतपूर्व सैनिकहरू समावेश गरेर निजी सेना बनाए । सेनाले हिंसा र हत्यालाई चुनावी रणनीतिमा समावेश ग–यो ।
आठ वर्षपछि मुगाबेले पहिलो चरणमा राष्ट्रपति निर्वाचन हारेपछि पनि यस्तै रणनीति बनाएका थिए ।
अंग्रेजीका पूर्वअध्यापक मुगाबेको सकारात्मक उपलब्धिको कुरा गर्नुपर्दा उनले जिम्बाब्वेमा शिक्षाको निकै प्रचारप्रसार गरे ।
जिम्बाब्वे अहिले पनि अफ्रिकी मुलुकहरूमा सबभन्दा धेरै शिक्षा दर भएको देश हो ।
राजनीतिशास्त्री मासिपूलाले मुगाबेले शिक्षाको स्तर बढाएर आफ्नो गोडामा आफैं बञ्चरो चलाएको बताएका थिए किनकि शिक्षित युवाले जिम्बाब्वेको समस्या बुझ्न सक्छ ।
युवा पुस्ता रोजगारीको अभाव तथा अन्य समस्याका लागि सरकारलाई दोषी ठान्छ ।
बीबीसीबाट