
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुशासनको पक्षमा उभिँदा कांग्रेस र एमालेले सरकार ढालेको बताएका छन् ।
आइतबारबाट शुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन् ।
‘सुशासनको पक्षमा दृढतापूर्वक उभिँदा सरकार गुमाउनुपर्यो । भ्रष्टाचारी र माफियातन्त्रलाई जोगाउन अहिलेको सरकार बनाइएको हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामी हतारमा छैनौं, तर गलत इन्टेन्सनको साथ बनाइएको सरकार लामो समय जाँदैन भन्ने अध्यक्षको आशय छ ।’
प्रचण्डले पहिलो चरणमा हुलाकी र मध्यपहाडी राजमार्ग केन्द्रित तीन महिने अभियान सञ्चालन गर्ने, संगठनको काम गर्ने र विचार विश्लेषणपछि महाधिवेशनको तयारीमा जुट्ने उल्लेख गरेका छन् ।
पालिका, जिल्ला र प्रदेशको अधिवेशनमा जुटेपछि महाधिवेशन गर्ने भन्दै प्रचण्डले अविश्वास नगर्न आग्रह गरेका छन् ।
प्रचण्डको प्रस्तावमा फागुनभित्र केन्द्रदेखि प्रदेशसम्मका नेताले सम्पत्ति विवरण बुझाउन निर्देश गरिएको छ ।
प्रचण्डको राजनीतिक प्रस्ताव पेश भएपछि सबै पदाधिकारीलाई पनि यसपटक सुझाव राख्न समय दिइने भएको छ ।
‘यस अघि स्थायी कमिटी हुँदै आएको प्रस्तावमा केन्द्रीय कमिटी सदस्यले मात्रै बोल्ने परम्परा थियो,’ माओवादीका एक केन्द्रीय सदस्यले भने, ‘यसपटक अरु पदाधिकारी र सिनियर नेताले पनि बोल्न पाउने भएका छन् ।’