
भारी हिमपातपछि अमेरिकाको ६ राज्यमा आपतकाल घोषणा गरिएको छ । भारी हिमपातपछि हिमआँधीको पूर्वचेतावनी दिँदै केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस र मिसौरीलगायतका राज्यमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ ।
देशभर ६० मिलियन बढी नागरिकलाई शीतकालीन अलर्ट जारी गरिएको छ । प्रतिघण्टा ५० माइलको गतिमा आउने भनिएको हिउँ र चिसो हावा मिश्रित आँधी निकै शक्तिशाली अनुमान गरिएको छ । जसले मध्य र पूर्वी अमेरिका प्रभावित हुने बताइएको छ ।
अमेरिकाको नेशनल वेदर सर्भिस (NWS)का अनुसार अमेरिकाको मध्य भागबाट शुरू भएको हिम तूफान आगामी दिनमा पूर्वतिर सर्ने छ ।
ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार आइतबार अमेरिकामा २ हजारभन्दा बढी उडान ढिलो र १,५०० रद्द गरिएका थिए।
अमेरिकाको मध्य भागका धेरै ठाउँमा सडक बन्द गरिएको छ र मानिसहरूलाई सवारी चलाउँदा सावधानी अपनाउन भनिएको छ ।