
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न गरेको छ ।
यही पुस २० गते बर्दिबासमा आयोजित कार्यक्रममा बर्दिबासका साथै हेटौंडा क्षेत्रलगायत नारायणगढ शाखाका अभिकर्ता एवं कर्मचारीहरू र केही विभागीय प्रमुखहरूसमेतको सहभागितामा तालिम सम्पन्न गरिएको हो ।
तालिममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले गैरकानूनी कमाईलाई वैध बनाउन बीमाको प्रयोग बढेको बताए ।
'गैरकानूनी कमाई र आतंककारी कार्यबाट आर्जित धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने प्रयास भइरहेको छ,' उनले भने ।
यस्तो कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरू के-के हुन्, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा पनि उनले विस्तृत जानकारी दिएका थिए ।
गत वर्ष पनि कम्पनीले देशभरि विभिन्न ठाउँमा सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिमको आयोजना गरेको थियो ।
इटहरी, इनरुवा र बिर्तामोड क्षेत्रका कर्माचारी र अभिकर्ताहरूको लागि गत मङ्सिर २७ गते इटहरीमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
यस्तै, धनगढी, नेपालगन्ज, सुर्खेत क्षेत्रका लागि कोहलपुरमा मङ्सिर २२ गते, बुटवल, जीतपुर र भैरहवा क्षेत्रका लागि मङ्सिर १ गते बुटवलमा, पोखरा र बाग्लुङ क्षेत्रका लागि कात्तिक १० गते पोखरमा र असोज र मङ्सिर ६ गते दुईपटक काठमाडौंमा तालिम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।