क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले केही दिनभित्रै राजीनामा दिने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रोयटर्स र क्यानाडाको ग्लोब एन्ड मेल पत्रिकाले ५३ वर्षीय ट्रुडोले सोमवार नै राजीनामा घोषणा गर्न सक्ने अनुमान गर्दै समाचार प्रकाशित गरेका छन् ।
रोयटर्सले स्रोतको हवाला दिँदै भनेको छ, 'यही बुधवार हुने भनिएको लिबरल पार्टीका नेताहरूको आपतकालीन बैठकअघि नै प्रधानमन्त्री ट्रुडोले राजीनामा दिने अपेक्षा गरिएको छ ।'
ट्रुडोले राजीनामा दिएपछि उनी तत्कालै प्रधानमन्त्री पद छोड्ने वा नयाँ लिबरल नेताको चयनसम्म पदमा रहने भन्ने कुरा अझै स्पष्ट भएको छैन । उनले २०१३ देखि लिबरल पार्टीको नेतृत्व गर्दै आएका छन् र उनी २०१५ देखि क्यानाडाको प्रधानमन्त्रीका रूपमा कार्यरत छन् ।
ट्रुडोले राजीनामा दिनुपर्ने मत लिबरल पार्टीभित्रै बढिरहेको छ । पछिल्लो समयमा गरिएको जनमत सर्वेक्षणहरूमा उनको पक्षमा कमजोर नतिजा देखिएपछि उनी दबाबमा परेका छन् ।
डिसेम्बर महिनामा ट्रुडोका अर्थमन्त्रीले नीतिगत मतभेदका कारण राजीनामा दिएपछि प्रधानमन्त्रीमाथिको दबाब झनै बढेको हो ।
क्यानाडामा आगामी अक्टोबरसम्म चुनाव सम्पन्न गरिनुपर्ने संवैधानिक प्रावधान छ । तर, जनमत सर्वेक्षणहरूमा ट्रुडो नेतृत्वको लिबरल पार्टीको लोकप्रियता घट्दै गइरहेको र विपक्षी कन्जरभेटिभ पार्टीले ठूलो जीत हासिल गर्ने संभावना देखिएको छ ।
क्यानाडाको व्यवस्थाअनुसार पार्टीले आफ्नै नेतालाई पदबाट हटाउने औपचारिक प्रक्रिया छैन । तर, यदि मन्त्रिपरिषद्का सदस्य र सांसदको ठूलो समूहले ट्रुडोलाई राजीनामा दिन दबाब दिए भने उनी पदमा टिकिरहन कठिन हुन सक्छ । यस विषयमा प्रधानमन्त्री कार्यालयले हालसम्म कुनै प्रतिक्रिया नदिएको रोयटर्सको भनाइ छ ।