
रूपन्देहीमा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान केही समयपछि रातको समयमा पनि खेल्न मिल्ने गरी तयार हुँदैछ ।
अबको एक/डेढ महिनाभित्र ‘फ्लड लाइट’ जडान गरी रातिको समयमा पनि खेल्न मिल्ने देशकै पहिलो इन्टरनेसनल क्रिकेट मैदान बन्न लागेको हो ।
अस्ट्रेलियामा व्यवसाय गर्दै आएका गुल्मीका विनोद कुँवरको लगानीमा तिलोत्तमा नगरपालिका– १७ मा निर्माणाधीन एक्ट्राटेक ओभल निजी क्षेत्रबाट बनेको देशकै पहिलो व्यावसायिक क्रिकेट मैदान हो ।
रंगशालामा ‘फ्लड लाइट’ जडान अन्तिम चरणमा पुगेको लगानीकर्ता विनोदका दाजु समेत रहेका एक्स्ट्राटेक ओभल क्रिकेट मैदानका म्यानेजर सूर्य कुँवरले जानकारी दिए ।
‘लाइट जडानका लागि पिलर बनाउने काम यसअघि नै सकिएको छ,’ कुँवरले भने, ‘अबको १५/२० दिनमा भारतबाट लाइट आइपुग्नेछ । त्यसपछि सबै कुरा टेस्टिङमा जानेछौं ।’
धेरै काम एकसाथ भइरहेको छ । प्राक्टिसका लागि ६ वटा पिचमध्ये २ वटा ढलान भइसकेको छ ।
फ्लड लाइटका उपकरण ग्राउन्डमा झर्ने दिन आफू पनि नेपाल आइपुग्ने विनोदले बताएका छन् ।
४ बिघा १३ कठ्ठा क्षेत्रफल ओगटेको मैदानलाई ५ वर्षभित्र एकेडेमीसहितको सुविधा सम्पन्न क्रिकेट स्टेडियमका रूपमा विकास गरिने छ ।
स्टेडियमको डीपीआरअनुसार अहिलेसम्म ४५ प्रतिशत काम भएको छ । ९ महिनामा तयार भएको क्रिकेट मैदान गएको वर्ष (२०८०) फागुन २८ मा उद्घाटन गरिएको थियो ।
उद्घाटनको भोलिपल्टदेखि एक्स्ट्राटेक लिजेन्ट कप प्रतियोगिता गरी मैदानको सफल परीक्षण गरिएको थियो । ६० करोड रूपैयाँ लगानीमा निर्माणाधीन रंगशालामा जग्गाका लागि मात्र ७ करोड खर्च भएको छ ।
खेलाडी ड्रेसिङ रूम, मिडिया बक्स, भीआईपी बक्सलगायत संरचना निर्माणको काम अहिले जारी छ ।
‘नारायणी पश्चिमसहित सिंगो देशकै ‘गेम डेभलपमेन्ट’का लागि राष्ट्रिय स्तरको क्रिकेट मैदान तयार भएको छ,’ एक्स्ट्राटेक ओभलका ब्रान्ड एम्बेस्डर शक्ति गौचन भन्छन्, ‘अहिले पनि खेल खेलाउन सकिन्छ , अन्य पूर्वाधार निर्माणका काम पनि भइरहेका छन् ।’

शिलान्यास भएको ८ महिनामा मैदान तयार भएको थियो । यहाँ विभिन्न चरणका काम गर्ने योजना छ, जसअनुसार अहिले पनि कामहरू भइरहेका छन् । उनका अनुसार १५/२० हजार दर्शक क्षमताको प्यारापिट बनाउन सकिने अवस्था रहेको र हाल २/३ हजार दर्शक क्षमताको रंगशाला तयार भएको छ ।
रंगशालामा खेल सञ्चालनका साथै आवासीय सुविधासहित एकेडेमी सञ्चालन गरेर क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको ब्रान्ड एम्बेस्डर गौचनले बताए ।
नयाँ वर्ष सन् २०२५ का लागि विनोदले छुट्टै नयाँ प्रोजेक्ट ल्याउने बताएका छन् ।
नेपाली क्रिकेटलाई माथि पुर्याउनका लागि सरकार, क्यान र आफू एकआपसमा मिलेर काम गरी आ–आफ्नो दायित्व पूरा गर्ने विनोदले बताए ।
नेपालमा धेरै रंगशाला अलपत्र रहेको अवस्थामा विनोदले थालेको प्रयासलाई कमैले पत्याएका थिए । रूपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले तिलोत्तमामा बनेको क्रिकेट मैदानले यस क्षेत्रको विकास र खेल पर्यटनमा ठूलो अवसर सिर्जना गर्ने आशा लिएको बताए ।
यसले खेलाडी उत्पादनका साथै राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गरेर आर्थिक विकास र पर्यटनमा ठूलो टेवा पुर्याउने उनको विश्वास छ ।
विदेशमा बसोबास गर्दै आएका विनोदले देशमै केही गर्नुपर्छ भनेर क्रिकेट क्षेत्रमा ठूलो लगानी गरेका हुन् । नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउनुपर्छ भनेर उनले व्यक्तिगत पहल र लगानीमा काम अगाडि बढाएका थिए ।
नेपाल फर्किन चाहने अथवा विदेशमा बसेर पनि केही गर्न चाहने मनलाई जोड्ने योजना बुनेको विनोदले बताए । ‘कुनै एकजनाको परिवारलाई स्वास्थ्य, शिक्षा, रोजगारी अथवा घर छैन भने घरसहित जिन्दगीमा खुसी पार्ने एउटा काम गर्नेछौं,’ विनोदले आफ्नो युट्युब च्यानलमार्फत भनेका छन्, ‘समाजमा इम्प्याक्ट पार्ने गरी एउटा काम गर्नेछौं । यो अभियान संसारभर हामी बनेर जानेछ भन्नेमा म आशावादी छु । यसमा कसैले साथ नदिए पनि एक्लै लड्ने अठोट मैले लिएको छु । अहिले धेरै साथीहरू जोडिनुभएको छ । उहाँहरूको नाम म बिस्तारै खुलाउँदै जानेछु ।’
त्रिवि क्रिकेट मैदानलाई पनि सरकारले व्यवस्थित बनाउँदै छ । फ्लड लाइट जडानको प्रक्रिया अघि बढेको छ भने चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम पनि अहिले धमाधम चलिरहेको छ । क्रिकेटको विकाससँगै देशमा निजी क्षेत्र र सरकारी पक्षबाट धमाधम क्रिकेट मैदानमा लगानी भइरहेको छ ।