के तपाईं स्मार्टफोन चलाउनुहुन्छ ? यदि चलाउनु हुन्छ भने, फेसबूक, इन्स्टाग्राम, ह्वाटसएप, टेलिग्राम, टिकटकलयागत पनि पक्कै चलाउनुहोला । त्यस्तै, प्रविधिले दिएको सुविधालाई भरपुर उपभोग गर्दै मोबाइल बैंकिङ, इसेवा, खल्तीलगायत वालेटहरू पनि अधिकांशले चलाउनुभएको नै हुन्छ ।
तर, यी सञ्जाल र वालेट चलाउने क्रममा सामान्य सावधानी अपनाउन नसक्दा पढेलेखेका र समझदार मानिएका व्यक्तिहरू नै नजानिँदो पाराले ठगिएका छन् । कोही लोभमा परेर, कोही भावनामा बगेर, त कोही आवश्यक पुस्ट्याइँ नगरी असावधान बन्दा ठगिने गरेका हुन् । हो, यस्तै केही सत्य घटनाको उदाहरण यहाँ पेश गर्दैछौं ।
घटना नम्बर १
काभ्रेकी ५५ वर्षीया रमा ठकुरीसँग एक अधवैंशे विदेशी पुरुष (क्लिफ मार्स) ३ महिनादेखि फेसबूकमा साथी बनेका थिए । फेसबूकमा क्लिफको ठेगाना लण्डन उल्लेख थियो । उनले कहिलेकाहीँ सञ्चोबिसञ्चो सोध्थे । रमाले पनि नातिनीको सहायताले रिप्लाइ दिन्थिन् ।
कुराकानीकै क्रममा उनीहरूको ह्वाट्सएप नम्बर साटासाट भयो । त्यसयता ह्वाट्सएप मै कुराकानी हुन थाल्यो– कहिले च्याट त कहिले अडियो–भिडियो कलमा । क्लिफले आफू डिभोर्सी रहेको जानकारी गराए । सँगै छोरी पनि रहेको भनेर फोटो/भिडियो समेत पठाए ।
कुराकानीकै क्रममा क्लिफले क्रिसमसको अवसरमा रमालाई विभिन्न गिफ्ट दिने र यसो गर्दा आफूहरूलाई पुण्य प्राप्त हुने मान्यता रहेको बताए । शुरूमा त रमाले विश्वास गरिनन् । क्लिफले रमाको कपडाको साइज समेत मागे । त्यसको भोलिपल्ट क्लिफले आइफोन, गरगहना, घडी, ब्यागलयागत सामानहरू किनेको भनेर बिलसहित सामानको भिडियो पठाउँछन् । भिडियोमा ७० हजार अमेरीकी डलर पनि देखिन्छ ।
कोही विदेशी साथीले महंगा सामान र पैसा आफूलाई गिफ्ट गर्दैछ भनेर रमालाई सपनाजस्तै लाग्छ । ती व्यक्तिले सामान कुरियर गरेर पठाउन लागेको भनेर गाडीमा सामान लोड गर्दै गरेको भिडियो समेत पठाउँछन्, जुन कुरा विश्वास गर्न रमा बाध्य हुन्छिन् ।
क्लिफले एरपोर्टबाट सामान लिन रमालाई आग्रह गर्छन् । उनले एयरपोर्टबाट कुरियरले सम्पर्क गर्ने बताउँछन् । क्लिफले भनेझैं दुई दिनपछि ह्वाटसएपमै कल आउँछ, सपना तामाङको नामबाट ।
सपनाले कुरियरबाट बोलेको भन्दै कुरियर गरेबापतको चार्ज दिइएको क्युआर कोड अर्थात् यमबहादुर गाहा मगरको खातामा ६० हजार रुपैयाँ पठाइदिन भन्छिन् । रमाले सहजै ६० हजार अनलाइन ट्रान्सफर गरिदिन्छिन्, डिसेम्बर १७ तारिखमा ।
त्यसको भोलिपल्ट एयरपोर्ट भन्सारमा सामान अड्किएको भन्दै एजेन्ट सविनाको नामबाट फोन आउँछ । भन्सारको कर तिर्नका लागि २ लाख आवश्यक पर्ने भन्दै पुन यमबहादुरकै खातामा २ लाख पठाउन भनिन्छ । रमाले केही नसोचिकन साथीसँग सापटी मागेरै भएपनि डिसेम्बर १८ मा २ लाख अनलाइन ट्रान्सफर गर्छिन् । त्यसपछि भन्सारबाट सामान जाँचपास भएको नक्कली प्रमाणपत्र समेत रमाको ह्वाटसएपमा आउँछ ।

अब त सामान हात लाग्ने भयो भनेर रमा मख्ख पर्छिन् । तर, भोलिपल्ट फेरि ह्वाटसएपमा कल गरेर १६ लाख मागिन्छ । यदि १६ लाख पठाइदिए भोलिपल्ट सामान घरमै पुग्ने भनिन्छ । यतिबेला बल्ल रमालाई आफू नमज्जासँग ठगिएको थाहा हुन्छ ।
घटना नम्बर २
भक्तपुरका सविनले सञ्जालमा एउटा लिंक भेट्टाउँछन्, जसमा घरमै बसीबसी अनलाइन जागिर गरेर आकर्षक कमाइ हुने भनिएको हुन्छ । बडो उत्सुकताका साथ सविनले लिंक क्लिक गर्छन् । लिंकमार्फत टेलिग्राममा जोडिन्छ । त्यहाँ विभिन्न टास्कहरू चरणबद्धरूपले दिइन्छ । सविन सबै काम पूरा गर्दै जान्छन् । उनले टेलिग्राममा पाएको निर्देशनअनुसार सबै टास्क पूरा गरेपछि टेलिग्राममा नै खाता खोल्न लिंक दिइन्छ । उनीहरूले भनेबमोजिम नै सविनले खाता खोल्छन् ।
दिइएको टास्क पूरा गरेबापत तलब स्वरूप उनको खातामा एक सय डलरदेखि पाँच सय, एक हजार गर्दै रकम जम्मा हुँदै गएको देखाइन्छ । सविनको खातामा १० लाख पैसा जम्मा भएपछि निकाल्न खोज्छन् । तर, उनीहरूले पैसा निकाल्नका लागि ३० हजार जम्मा गर्नुपर्ने भन्दै क्यूआर कोड पठाउँछन् । सविनले पनि डिपोजिट गर्छन् । त्यसपछि उनको खातामा डिपोजिट भएको रकम र बोनस समेत थपिएको विवरण देखाइन्छ ।
सविन चकित पर्छन् । स्क्यामरले यसरी पैसा थप्दै गए बोनस पनि थपिँदै जाने प्रलोभन देखाउँछ । सविन लोभिन्छन् । स्क्यामरले प्राविधिक समस्या भएकाले केही दिन पैसा निकाल्न नमिल्ने तर उनको पैसा सुरक्षित रहेको र बोनस पनि थपिँदै गएको बताउँछ । यसरी सविनले एक महिनाको अवधिमा १० पटक गरी ८ लाख ५० हजारभन्दा बढी पैसा जम्मा गरिसकेको हुन्छन् । यो चरणसम्म आइपुग्दा बल्ल सविनलाई आफू ठगिएको पत्तो हुन्छ ।
घटना नम्बर ३
काठमाडौंमा कोठा लिएर बीएसस्सी नर्सिङ गरिरहेकी धादिङकी कल्पना एक प्राइभेट अस्पतालमा काम गर्छिन् । एकदिन कल्पनाको फेसबूकमा ना. अन्नाको नामबाट म्यासेज रिक्वेस्ट आउँछ । म्यासेजमा आफू युकेको प्रख्यात डाक्टर भएको र गरीब देशका केही व्यक्तिहरूलाई सहयोग गर्न इच्छा भएको कुरा उल्लेख हुन्छ ।
कल्पनाले आफू पनि मेडिकल लाइनमै आबद्ध भएकाले उक्त म्यासेजलाई स्वीकार गर्छिन् र उनीहरूबीच सामान्य परिचयबाट कुराकानी शुरू हुन्छ ।
उनीहरूबीच ह्वाटसएप नम्बर आदानप्रदान हुन्छ । चार/पाँच दिनसम्म व्यक्तिगत र पारिवारिक कुराकानी हुँदै जान्छ । सोही क्रममा क्रिसमसको अवसरमा केही गिफ्टहरू पार्सल गरेर पठाइदिने भन्दै कल्पनाको ठेगाना समेतको विवरण माग गरिन्छ ।
शुरूमा त कल्पनालाई विश्वास लाग्दैन, त्यसैले आफूलाई केही गिफ्ट नपठाउन आग्रह गर्छिन् तर, डा. अन्नाले विभिन्न तरिकाले सम्झाइबुझाइ गिफ्टका लागि कल्पनालाई राजी गराउँछन् । डा.अन्नाले गहना, आइफोन, नेकलेस, लिपस्टिकजस्ता सामानहरू बक्समा प्याकेज गरेर कल्पनाको नाम, मोबाइल नम्बर र ठेगाना लेखेको स्टिकर टाँस गरी कुरियरमा हालिदिएको भनी भिडियो बनाइ पठाउँछन् । त्यो सबै फोटो र भिडियो देखेपछि उनलाई विश्वास लाग्छ ।
भोलिपल्ट साँझ ९ बजेतिर कल्पनाको ह्वाटसएपमा फोन आउँछ । आफू कुरियर अफिसबाट बोलेको भन्दै कर तिर्न १७,२६५ पठाउन भनिन्छ । पैसा माग भएपछि कल्पनाले डा. अन्नासँग कुरा गर्छिन् । आफूहरू केही दिन जर्मनीमा पारिवारिक टूरमा जाने र टूरबाट फर्केपछि सामान रिसिभ गर्दा लागेको चार्ज समेत पठाइदिने भन्छन् । कल्पनाले कुरियरवालाले पठाएको क्यूआरमा रकम जम्मा गर्छिन् । कुरियरवालाले ‘तपाईंको पेमेन्ट रिसिभ भयो, भोलिबिहानै तपाईंको घरमा सामान आइपुग्छ’ भनी म्यासेज रिप्लाइ गर्छ ।
तर, अर्कोदिन सामान घरमा आइपुग्दैन । कल्पनाको ह्वाटसएपमा भन्सारको कर्मचारी बोलेको भन्दै नेपालमा प्रतिबन्धित सामानहरू विदेशी पैसा, हिराको गरहगनासमेत भेटिएकाले कानूनी कारबाही हुने डर देखाउँछन् । कारबाहीबाट बच्न चिनजानको कर्मचारीलाई २,७०,००० तिर्नुपर्ने भनिन्छ । कल्पना गहिरो सोच र चिन्तामा पर्छिन् । प्रहरीले पक्राउ गरेर बदनाम हुनुभन्दा भन्सारको कर्मचारीसँग कुरा मिलाउने निष्कर्षमा पुग्छिन् । उनले ह्वाटसएपमा प्राप्त क्युआर कोडमा भनेजति रकम जम्मा गर्छिन् । यसका लागि कल्पनाले आफ्नो सिक्री, मुन्द्रा, हातको बाला बन्दकी राखेकी हुन्छिन् ।
भोलिपल्ट फेरि अर्को नेपाली नम्बरबाट म्यासेज आँउछ, ‘म भन्सारकै कर्मचारी हुँ, तपाईंको केस हेर्ने कर्मचारीलाई घुस लिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ, तपाईंलाई पनि पक्राउ गर्न प्रहरीले तयारी गरिसकेको छ । यदि तपाई पक्रनबाट जोगिन चाहनुहुन्छ भने यो क्युआरमा ७ लाख ५० हजार जम्मा गर्नुपर्ने हुन्छ, अन्यथा तपाईंलाई अप्ठ्यारो पर्छ ।’
यस्तो म्यासेज आएपछि कल्पनालाई निकै तनाव हुन्छ । उनले अर्को कोठामा बस्ने दिदीलाई सबै कुरा शेयर गर्छिन् र आफू ठगिएको भान भएपछि प्रहरीको साइबर अनुसन्धान ब्यूरोमा निवेदन दिन्छिन् । साइबर ब्यूरोको टोलीको अनुसन्धानबाट कल्पनाले पैसा जम्मा गरेको खाता मुनाको भएको पत्ता लाग्छ । र, मुनालाई प्रहरीले पक्राउ गरेपछि मुना पनि छाँगाबाट खसेझैँ हुन्छिन् । यता पक्राउ परेकी मुनाको बयान सुनेर प्रहरी नै चकित हुन्छन् ।
मुनाको घरमा पारिवारिक झै–झगडा भई १२ वर्षकी अटिजम भएकी छोरीलाई लिएर कोठा भाडामा बसेकी हुन्छिन् । उनको श्रीमानसँग डिभोर्सको प्रक्रिया पनि चलिरहेको हुन्छ । एकदिन मुनाको फेसबूक म्यासेजमा डा. अन्नाकै म्यासेज आएको हुन्छ । उसले आफू युकेको प्रख्यात डाक्टर भएको गरीब देशका केही व्यक्तिहरूलाई सहयोग गर्न चाहेको बताउँछ । मुनाले डाक्टर देखेपछि म्यासेज रिक्वेस्ट स्वीकार गर्छिन् । उनीहरूबीच सामान्य कुराकानी हुन थाल्छ । डा. अन्नाले मुनाको अटिजम भएको छोरीको उपचार नेपाल आएर गर्ने र उनलाई पनि नेपाल आउँदा विभिन्न बहुमूल्य गिफ्टहरू ल्याइदिने प्रलोभन देखाउँछ ।
मुना आफ्नो श्रीमान र परिवारसँग राम्रो सम्बन्ध नभएको र आर्थिक अवस्था कमजोर भएको कारण डा. अन्नासँग नजिक हुन सकेमा छोरीको उपचार पनि हुने र आफ्नो भविष्य पनि उज्ज्वल हुने सपना बुन्न थाल्छिन् । उनीहरूबीच मायाप्रेमका कुराकानीहरू हुन थाल्छ । केही हप्ता कुराकानी गरेपछि आफू नेपाल आउन लागेको र मुनाका लागि केही बहुमूल्य गहना, आइफोन, घडीलगायत सामान लगेजमा प्याक गरेको भिडियो र फोटो पठाई विश्वास दिलाउँछ ।
भोलिपल्ट मुनाको ह्वाट्सएपमा फोन गरी आफू भारतको इन्दिरा गान्धी एयरपोर्टमा आइपुगेको र आफ्नो साथमा बहुमूल्य गरगहना र केही नगद रहेकाले प्रहरीले पक्राउ गरी आफूलाई हिरासतमा राखेको बताउँछ । प्रेम महसुस गर्न थालेकी मुना एकाएक भावुक हुन्छिन् ।
डा. अन्नाले केस जित्न वकिललाई धेरै रकम दिनुपर्ने र त्यसका लागि नेपाल वा भारतको बैंक खाता आवश्यक पर्ने बताउँछन् । आफू र आफ्नो छोरीको उपचारका लागि नेपाल आउन लागेको मान्छेलाई मैले सहयोग गर्नुपर्छ भन्ने मुनालाई लाग्छ ।
अन्नाले भनेझैं मुनाले आफ्नो मोबाइल नम्बर राखी नजिकै रहेको एक बैंकमा खाता खोलेर एटीएम भारतको ठेगानामा कुरियर गरी पठाइदिन्छिन् । अन्ना जेलमा रहेकाले जाडो होला भनेर ज्याकेट समेत किनेर कुरियर गरेर पठाउँछिन् । मुनाले पठाएको एटीएम र कपडालयातको सामान उसले रिसिभ गर्छ र विभिन्न बहानामा जेलबाट निस्किन समय लागेको बताउँछ ।
साइबर ब्यूरोमा कल्पनाले उजुरी दिएपछि अनुसन्धानका क्रममा सो खाता मुनाको रहेको खुल्न जान्छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार उक्त खाता प्रयोग गरी २५ लाख रुपैयाँ निकालिएको हुन्छ ।
साइबर ब्यूरोका अनुसार पछिल्लो समय नेपालमा अनलाइन जागिर वा अनलाइन व्यापारमा लगानी गर्ने बहानामा ठगिनेको संख्या ह्वात्तै बढेको छ । आपराधिक गिरोहले विशेषगरी महिलालाई लक्षित गरेको अनुसन्धानमा देखिन्छ ।
गिरोहले अरूलाई विश्वास दिलाई अग्रिम योजना बनाएर सामाजिक सञ्जालमा व्यक्तिले गर्ने गतिविधिको निगरानी गरी सोहीअनुसारको म्यासेज गरी फसाउने गरेको पाइएको छ । गिरोहले ह्वाटसएपमा विभिन्न लिंक पठाएर, फेसबूक, इन्स्टाग्राममा साथी बनेर तथा सञ्जालमै विज्ञापन गरेर समेत फसाउने गरेका छन् । अझ रोचक कुरा त के छ भने गिरोहले माया, सहानुभूति र आशाको सहारा लिएर पीडितहरूलाई सजिलै प्रभावित बनाउँछन् ।
सबैभन्दा बढी अनलाइन जागिर र अनलाइन शपिङको नाममा ठगिनेको संख्या ह्वात्तै बढेको छ । ब्यूरोका अनुसार चालू आर्थिक वर्षको पुससम्म मात्रै ३ हजार ६०१ व्यक्ति अनलाइनबाटै ठगिएका छन् । यो तथ्यांक अघिल्लो वर्षको तुलनामा झण्डै तेब्बरले बढी हुन आउँछ ।
विगत ६ महिनाको अवधिमा अनलाइन जागिरको बहानामा १२८० व्यक्तिको ३२ करोड २६ लाख १६ हजारभन्दा बढी रकम ठगिएको छ । त्यस्तै, अनलाइन शपिङका नाममा ठगिएको भन्दै ११३१ व्यक्तिको निवेदन साइबर ब्यूरोमा परेको छ । अनलाइनकै माध्यमबाट चिट्ठा परेको र उपहार पठाउने भन्दै २२८ व्यक्तिको ४ करोड ४४ लाखभन्दा बढी पैसा ठगिएको छ ।
सामाजिक सञ्जाल ह्याक गरेर तथा फेक आईडीबाट २१८ पीडितको २ करोड ४४ लाखभन्दा बढी रकम ठगिएको छ । त्यतिमात्रै होइन, बैंक तथा विभिन्न ई–वालेट कम्पनीको हवाला दिएर पनि आपराधिक गिरोहले नयाँ–नयाँ शैलीबाट पीडितहरूलाई शिकार बनाइरहेका छन्, जसमा १३६ व्यक्तिको १ करोड १६ लाखभन्दा बढी रकम झ्वाम भएको छ ।
आकर्षक बोनसको प्रलोभन देखाएर क्रिप्टो करेन्सीलगायतमा अनलाइन लगानी गराउने, पिटिई अन्तर्वार्ताको मिति मिलाइदिने, कोठा खोजिदिने, मास्टर कार्ड/गेमिङ/कोइन तथा मनी एक्सचेन्जका नाममा ठगिनेहरूको उजुरीको चाङ नै लागेको छ । भिडियो शेयरिङ र ब्लयाकमेलिङ, अपुताली, वैदेशिक रोजगारजस्ता प्रलोभनमा पनि नेपालीहरू सहजै फसिरहेको प्रहरीको भनाइ छ ।
यसरी ठगिनेमा सामान्य नागरिकदेखि शिक्षिका, डाक्टर, प्रहरीदेखि सहसचिवलगायत विभिन्न उच्च ओहोदामा काम गरिसकेका व्यक्ति समेत छन् । त्यसो त नेपालीहरू ठगिने क्रम अत्यधिक बढेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि एक विज्ञप्ति जारी गर्दै अनलाइन ठगीबाट जोगिन अनुरोध गरेको छ । सीआईबीले केही दिनयता विभिन्न सामाजिक सञ्जालहरू, डिजिटल वालेट कम्पनी, बैंक तथा वित्तीय संस्थाबाट बोलेको भन्दै अपरिचित नम्बरबाट फोन र म्यासेज गरी प्रलोभनमा पारेर ठगी गर्ने गिरोह सक्रिय रहेकाले सचेत रहन आग्रह गरेका छन् ।
ठगीमा संलग्नहरूको पहिचान गर्न गाह्रो पर्ने र अनि फरक–फरक स्थानमा आधारित रहेर यस्ता गतिविधि गरिने हुँदा नागरिक स्वयं सजग नहुँदासम्म ठगीमा कमी आउने देखिन्न । यस्ता घटना तपाईंको परिवार वा छरछिमेकमा पनि घटिरहेको हुनसक्छ, यसप्रति सामाजिक सञ्जाल प्रयोगकर्ता सजग रहनुपर्ने देखिन्छ ।
विस्तृतमा हेर्नुहोस् भिडयो :