माछा कति रुपैयाँ किलोमा पाइन्छ ? सामान्यत: पाँच/सात सय वा बढीमा १०००/१५०० होला । ठूलै माछा खान खोज्दा पनि पाँच/सात हजार वा आठ/दश हजारमा भनेजस्तै माछा पाइन्छ ।
तर, माछा खानकै लागि कसैले करोडौं रुपैयाँ तिरेको सुन्नुभएको छ ? एउटा माछा लिलामीमा १३ लाख डलर (झण्डै १८ करोड नेपाली रुपैयाँ) को बोली लागेको छ ।
द गार्डियनको रिपोर्टअनुसार यो संसारभरि बहुमूल्य मानिने ब्लूफिन टुना माछा हो । माछाको साइज लगभग एक मोटरसाइकल बराबर थियो ।
जापानको राजधानी टोकियोको एक प्रसिद्ध सुसी रेस्टुरेन्टमा २७६ किलोग्रामको यो टुनाको लागि बोली लगाइएको थियो । अन्तिम बोली करिब १३ लाख डलरमा लाग्यो । बोली लगाउनेले प्रतिकिलो करिब साढे ६ लाख रुपैयाँ तिरेको समाचारमा उल्लेख छ ।
टोकियोमा हरेक वर्ष माछा लिलामी हुने गर्छ । लिलामीमा विगत ५ वर्षदेखि ओनोडेरा नामको समूहले सबैभन्दा बढी बोली लगाइरहेको छ । यस वर्ष पनि सोही समूहले सबैभन्दा बढी बोली लगाएर माछा किनेको हो ।
यो माछा लगभग ४० वर्ष सम्म बाँच्न सक्छ। समुद्रको गहिराइमा जान सक्ने क्षमताले यसलाई अन्य माछाभन्दा फरक बनाउँछ ।