
वैदेशिक रोजगारमा पोल्याण्ड पठाउने भन्दै मोटो रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-३१ बस्ने ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाको सुलिकोट गाउँपालिका-४ घर भई हाल काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ३७ वर्षीय राजेश बराम रहेका छन् ।
पक्राउ परेकामध्ये यदुवंशीले विभिन्न व्यक्तिबाट ७२ लाख ४८ हजार १५० र बरामले ८ लाख ९० हजार रूपैयाँ ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी, काजी कुमार आचार्यले बताए ।