
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए)मा भिजिबिलिटीको समस्या समाधान हुने भएको छ । हिउँदयाममा हुस्सुका कारण उडान तथा अवतरण प्रभावित हुँदै आएकोमा ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स–अथोराइजेसन रिक्वायर्ड’ (आरएनपी–एआर) प्रविधि लागू हुने भएको हो ।
विशेषगरी अन्तर्राष्ट्रिय उडान होल्ड तथा डाइभर्ट गर्नुपर्ने बाध्यता अन्त्य गर्न आरएनपी–एआर प्रविधि लागू गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यसअघि लागू गर्ने भनिएको आईएलएस (इन्स्टुमेन्टल ल्यान्डिङ सिस्टम)लाई भारतले सञ्चालन अनुमति नदिएपछि विमानस्थलमा भू–उपग्रहमा आधारित आरएनपी–एआर सिस्टम आउँदो माघ १० गतेबाट सञ्चालनमा आउन लागेको हो ।
गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आरएनपी–एआर एप्रोच जनवरी २३ (माघ १०) बाट लागू हुने बताए । यो प्रविधिपछि लो–भिजिविलिटीमा पनि ठूलो जहाजले अपरेसन गर्न सक्ने उनले लोकान्तरलाई जानकारी दिए ।

‘आईएलएसभन्दा उन्नत मानिएको आरएनपी–एआर प्रणाली आउँदो माघ १० गतेदेखि लागूपछि भएपछि ८०० मिटर भिजिबिलिटीमा पनि सहजरूपमा ठूला जहाज उडान तथा अवतरण गर्न सक्नेछन्,’ महाप्रबन्धक तिवारी भन्छन्, ‘न्यूनतम् २ हजार मिटर भिजिबिलिटी आवश्यक पर्ने अवस्था रहेकोमा आरएनपी–एआर प्रविधिमा ९०० मिटर भिजिविलिटी भए पनि जहाज उडाउन र अवतरण गर्न सकिनेछ ।’
यसलाई जमिनमा कुनै पूर्वाधार बनाउनु पर्दैन । अन्तर्राष्ट्रिय उडानका जहाजमा यो ‘अन बोर्ड’ नै हुन्छ । यसका लागि विमान कम्पनीले वायुयान चालकलाई तालिम दिनुका साथै र उडान प्रमाणीकरण स्वीकृति भने लिनुपर्ने हुन्छ ।
भारतले आफ्नो ‘एरोस्पेस’मा प्रभाव पार्ने भन्दै आइएलएस सञ्चालन गर्न नदिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जहाजलाई अवतरणका क्रममा मार्गनिर्देश गर्ने स्याटेलाइटमा आधारित आरएनपी–एआर प्रविधि लागू गर्ने तयारी अगाडि बढाएको थियो ।
मंसिर पहिलो सातादेखि ५ अन्तर्राष्ट्रिय एयरलाइन्सले व्यावसायिक उडान शुरू गरे पनि बाक्लो हुस्सु र शीतलहरले ‘भिजिविलिटी’ नपुगेको समस्या देखाउँदै डिसेम्बर १२ बाट उडान रोकेका छन् । विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यका अनुसार यो प्रविधिले जहाज उडान र अवतरणको समस्या हटाउने छ ।

कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई, जजिरा र नेपाल एयरलाइन्सले एक महिना नियमित उडान गरे पनि अहिले नेपाल एयरलाइन्सबाहेक सबैले उडान स्थगित गरेका छन् । नेपाल एयरलाइन्सले हप्ताको चार दिन काठमाडौं–भैरहवा हुँदै दुबई उडान गरिरहेको छ ।
ठूला जहाजले उडान कटौती गरेपछि विमानस्थल पहिलेजस्तै चकमन्न छ । मुख्यतः पुस र माघ दुई महिना तराई क्षेत्रमा बाक्लो हुस्सु, शीतलहर र तुवाँलो रहने गर्छ । त्यसको असर विमानस्थलमा पर्दै आएको छ । विमानस्थलका प्रमुख अध्यागमन अधिकृत दिनेश सागर भुसालले नेपाल एयरलाइन्सले १०/१५ जना यात्रु झार्ने र लैजानेबाहेक अन्य अन्तर्राष्ट्रिय उडान रोकिएको बताए ।
‘अहिले यहाँको जनशक्ति दैनिक ५ देखि ७ इमिग्रेसन र भन्सार गर्न सक्ने क्षमता छ,’ भुसालले लोकान्तरसँग भने, ‘काठमाडौंको एयरपोर्ट ओभर क्लाउडेड भएको छ । सरकारले राजपत्रमा नै सूचना प्रकाशित गरेर फलानो–फलानो देशमा जाने यात्रुहरू भैरहवा विमानस्थल भएरै जानुपर्छ भन्ने व्यवस्था गर्नु आवश्यक छ ।’

जेठ २ वि.सं. २०७९ देखि सञ्चालनमा आएको विमानस्थलले अनेक झञ्झट र बाधा आउँदा दीर्घकालीनरूपमा सञ्चालनको बाटो पहिल्याउन सकेको छैन ।
एयरपोर्टलाई दीर्घकालीन रूपमा सञ्चालनका लागि विभिन्न छलफल र योजना बनेका छन् । त्रिभुवन विमानस्थल बढ्दो उडानका कारण साँघुरो बन्दै गएको अवस्थामा गौतम बुद्ध विमानस्थल पूर्णरूपमा सञ्चालन हुँदा केही राहत मिल्न सक्छ ।
शान्तिको मुहान लुम्बिनीमा बनेको आधुनिक एयरपोर्टको बजार गुम्ने खतरा आउन नदिन सबै लाग्नुपर्ने नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट (नाटा) लुम्बिनीका निवर्तमान अध्यक्ष रचना पन्त बताउँछिन् ।
एयरपोर्टका लागि चाहिने उपकरणहरू सबै आए पनि आउनैपर्ने कार्यालय अझै आउन सकेका छैनन् । विमानस्थल सञ्चालनका लागि विदेशिन चाहिने आधारभूत प्रक्रिया श्रम स्वीकृति, मेडिकल जाँच, भिसा सेन्टर, कार्गो, विदेश पढ्न जाने विद्यार्थीका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लेटर, ठूला ट्राभल एजेन्सीका कार्यालय स्थापना अझै भएका छैनन् ।
श्रम स्वीकृति नवीकरण अनलाइनबाट हुने भए पनि पहिलो पटकको श्रम स्वीकृति, मेडिकल जाँच, भिसा, कार्गोजस्ता सेवा भैरहवामा नहुँदा श्रमिक र व्यवसायीलाई काठमाडौं नै धाउनुपर्ने बाध्यता छ ।
पर्यटन व्यवसायी पन्तले वैदेशिक रोजगारी, अध्ययन र घुम्न जानका लागि सरकारी कागजात बनाउन काठमाडौं नै जानुपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताइन् । त्यसका लागि केही कार्यालय छिटो रुपन्देही ल्याउन उनको माग छ ।
विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान शुरू भएपछि हालसम्म भैरहवाबाट जम्मा ७२९ अन्तर्राष्ट्रिय उडान भएका छन् । विमानस्थलमा २१ हजार २७९ यात्रु आएका छन् भने २४ हजार २९४ यात्रु प्रस्थान गरेका एयरपोर्टको तथ्यांकमा उल्लेख छ । यो बीचमा करिब एक वर्ष पूर्णरूपमा अन्तर्राष्ट्रिय उडान हुनै सकेन ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारीले यात्रुहरूका लागि सहजरूपमा मेडिकल जाँच र म्यानपावरको व्यवस्था गरी श्रम स्वीकृतिलाई सहज बनाउने सन्दर्भमा छलफल भए पनि कार्यान्वयनको टुंगो लागेको छैन ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबासीलाई गौतमबुद्ध विमानस्थल पायक पर्छ । त्यस्तै, भारतको उत्तर प्रदेश र बिहारका केही क्षेत्रका लागि पनि यो विमानस्थल सहज छ ।
भैरहवा आउने एयरलाइन्सहरूलाई सरकारले विभिन्न सेवामा सहुलियत लगायतका आकर्षक प्याकेज घोषणा गरेको छ । भैरहवा विमानस्थलबाट सेवा प्रदानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु ३ हजार रूपैयाँ यात्रु सेवा शुल्क र १ हजार रुपैयाँ पर्यटन शुल्क पूर्ण छुट, ग्राउन्ड ह्यान्डिलङमा ७५ प्रतिशत छुट, ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा पूर्ण छुट प्रदान गरेको छ ।
यसका अलावा त्रिभुवन विमानस्थलभन्दा हवाई इन्धनमा पनि प्रतिकिलोलिटरमा १०० अमेरिकी डलर छुट दिएको छ । ८०० बिगाहा क्षेत्रफलमा फैलिएको विमानस्थलमा ३ किलोमिटरको ‘रनवे’ रहेको छ । फोर ई ‘क्याटोगोरी’ को विमानस्थलमा ९ औं क्याटोगोरीका वारुणयन्त्रहरू छन् ।

विमानस्थलसरह उडान र अवतरण हुन सक्ने चारवटा न्यारोबडी र एउटा वाइडबडी गरी ५ वटासम्म अन्तर्राष्ट्रिय विमान पार्किङ गर्न सक्ने क्षमता छ । अहिले भैरहवा आउने ठूला जहाज सिमराबाट नेपाल प्रवेश गर्छन् ।
विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रले चरणबद्ध आन्दोलन गरिरहेकै बेला भैरहवाबाट पाँचवटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान थालेपछि उत्साह थपिएको थियो । गौतमबुद्ध विमानस्थल निर्माणमा ४० अर्ब रूपैयाँ लगानी भएको छ, जसमा एसियाली विकास बैंक (एडीबी) को ऋण तथा अनुदान र नेपाल सरकारको लगानी छ ।
उच्च लागतमा विमानस्थल बने पनि सञ्चालनको कठिनाइले विमानस्थललाई सञ्चालन खर्च जुटाउन र ऋण तिर्न मुस्किल परिरहेको छ । विमानस्थललाई लक्षित गरी भैरहवा/लुम्बिनी क्षेत्रमा निजी क्षेत्रले अर्बौं रुपैयाँ लगानी गरेका छन् ।
होटल व्यवसायी चन्द्रप्रकाश श्रेष्ठ (सीपी) ले भैरहवाबाट दीर्घकालीन अन्तर्राष्ट्रिय उडान नभए व्यवसायीको अर्बाैं लगानी जोखिममा पर्ने बताए ।
‘भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडानले लुम्बिनीमा विदेशी पाहुना आगमन बढाउने आशामा हामी व्यवसायीहरू थियौं,’ श्रेष्ठ भन्छन्, ‘भैरहवाबाट नियमित उडानको माग गर्दै सबै क्षेत्रमा पटक–पटक आवाज उठाएका छौं । प्रभावकारी सुनुवाइ अझै भएको छैन ।’