
राष्ट्रिय एकता दिवसका अवसरमा दाङको पर्यटकीय क्षेत्र दूधरासदेखि छिल्लीकोटसम्मको दौड प्रतियोगिता आयोजना गरिएको छ ।
नेपाली सेनाको १९ नम्बर बाहिनी अड्डाको समन्वय, तुलसीपुर उपमहानगरपालिका र रणसिंहदल गणको संयुक्त आयोजनामा आज १२ किलोमिटरको दौड प्रतियोगिता भएको हो ।
लिगलिग कोटको राजा दौडबाटै छानिने प्रथाको सम्झना तथा छिल्लीकोट पर्यटकीय क्षेत्रको विकास गर्न प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।
दौडमा रणसिंह दल गण दाङमा कार्यरत रामजी बस्नेत पहिलो भए । उनले ५१ मिनेट ३१ सेकेन्डमा पार गरेका थिए । उनले रु २० हजार प्राप्त गरे ।
दोस्रो भएका विशालकुमार महतले रु १५ हजार र तेस्रो भएका एकेन्द्र कार्कीलाई रु १० हजार र सान्त्वना पुरस्कार खगिसरा रावलले पाए ।
त्यसअवसरमा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले छिल्लीकोट गढीका रुपमा रहेको बताए । उनले यसको ऐतिहासिक दरबार क्षेत्रको उत्खनन् आवश्यक भएको समेत उल्लेख गरे । उनले छिल्लीकोट क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि साहसिक खेल जीपलाइन, घरबास सञ्चालनमा आएको र खानेपानी, विद्युत् र सडक पूर्वाधार निर्माणकै चरणमा भएको बताए ।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले यसप्रकारका प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने धारणा राखे ।
तुलसीपुर उपमहानगरपालिका–१९ वडाध्यक्ष प्रेमनाथ योगीले राष्ट्रिय एकता दिवसले छिल्लीकोटको इतिहासलाई परिचित गराउने बताए ।
छिल्लीकोटमा दुई सय ९३ वर्ष राज गरेको इतिहास छ ।