
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सेवा प्रभावकारी बनाउन बाधा पुर्याउने मापदण्ड खारेज गर्ने सरकारको कदममा समर्थन जनाएकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले सरकारको कदम सकारात्मक रहेको बताएकी हुन् । 'सरकारले गर्नुपर्ने काम यही हो । तर, यससँगै नियमावलीसमेत पुनरावलोकन गर्नुपर्छ,' उनले भनेकी छिन् ।
साथै सांसद श्रेष्ठले यस कार्यमा कुनै पनि किसिमको सहकार्य गर्न आफू तयार रहेको बताएकी छिन् ।
'सरकारले सेवा प्रभावकारी बनाउन बाधा पुर्याउने निर्देशिका, कार्यविधि र मापदण्डलाई खारेज गर्ने गृहकार्य शुरू गरेको बारे थाहा पाएँ । निकै खुशी लाग्यो । सरकारले गर्नुपर्ने काम नै यही हो । तर यसैसँग के पनि जोड्न चाहे भने, यसमा नियमावलीसमेत हेरिनुपर्छ। यदि क्याबिनेटमा लगेर नियमावली पास गरिन्छ भने नियमावलीसमेत यसमा जोडिनुपर्छ। यस कार्यमा कुनै पनि किसिमको सहकार्य गर्न म तत्पर रहेको समेत जानकारी गराउन चाहन्छु,' श्रेष्ठको पत्रमा उल्लेख छ ।