१५ असार २०८३, सोमबार

नेपाली सेनाले मनायो पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस

पुस २७, २०८१
काठमाडौं
नेपाली सेनाले मनायो पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाली सेनाले शनिबार विभिन्न कार्यक्रम गरेको छ । जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति महारथी अशोक राज सिग्देलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरे । 

सो अवसरमा पृथ्वीनारायण शाहको सालिकमा सलामी अर्पण गर्नुका साथै रथीवृन्द, अधिकृत तथा सकलदर्जाबाट पुष्पगुच्छा अर्पण गरिएको थियो ।

यसै सिलसिलामा पुस २१ गते गोरखा दरबारबाट राष्ट्रिय झण्डा तथा नेपाली सेनाका आरम्भकालीन पाँच वटा पल्टन (श्रीनाथ, कालीबक्स, बर्दबहादुर, सबुज तथा पुरानो गोरख)को झण्डा र दीपज्योतिसहित शुरू भएको एकीकरण मार्ग पदयात्रा गोरखा, धादिङ, नुवाकोट हुँदै हनुमानढोका पुगेर शनिबार नै शाहको फोटो बग्गीमा राखी नगर परिक्रमापश्चात् जङ्गी अड्डामा आयोजित कार्यक्रममा सहभागी भयो । 

समारोहपश्चात् सभामण्डपमा आयोजित कार्यक्रममा प्रा.डा.त्रिरत्‍न मानन्धरले पृथ्वीनारायण शाहको योगदान र दिव्योपदेशको सैनिक पक्षका बारेमा र प्रा.डा. राजाराम सुवेदीले नेपाल एकीकरणमा राष्ट्र निर्माता शाहको देन, नेपाली सेना र राष्ट्रियताको बारेमा प्रवचन दिए ।

null

यसैगरी नेपाली सेनाका सकलदर्जा, सैनिक विद्यालय तथा राष्ट्रिय सेवादलका छात्रछात्राहरू सम्मिलित कविता प्रतियोगिताका उत्कृष्ट कविताहरूको वाचन एवं रिपुमर्दिनी सैनिक महाविद्यालयका छात्रछात्राहरूबाट राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानबारे लघु नाटक प्रस्तुत गरिएको थियो । 

पूर्व प्रधानसेनापतिहरू, सैनिक श्रीमती संघकी अध्यक्ष, रथीवृन्द, इतिहासविद्हरू लगायत नेपाली सेनाका सकलदर्जा एवं राष्ट्रिय सेवादलमा तालिमरत छात्रछात्राहरूको उपस्थिति रहेको उक्त समारोहको अन्त्यमा विभिन्न प्रतियोगिताका विजयी एवं निर्णायकहरू र प्रवाचकहरूलाई प्रधानसेनापतिले पुरस्कृत एवं सम्मान प्रदान गरे । 

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा नेपाली सेनाले धरानको फुस्रेबाट धनकुटाको पाख्रीबाससम्म ऐतिहासिक साँघुरीगढी पदयात्रा, उदयपुरको उदयपुरगढी-चौदण्डी गढी पदयात्रा र इलामको नागरीगढीदेखि माईस्थानसम्म निशान पदमार्ग पदयात्रा लगायतका कार्यक्रमहरू सञ्चालन गर्‍यो । ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मुलुकभर एवं विदेशमा समेत नेपाली सेनाका इकाईहरूमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । 

null

राष्ट्रिय एकता प्रवर्द्धनका यस्ता कार्यक्रमहरूबाट पृथ्वीनारायण शाहको योगदानको सम्मान हुनुका साथै राष्ट्रिय एकताको भावना अझ मजबुत भई इतिहासको जगेर्नामा थप सहयोग पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्