
काठमाडौं, १ मंसिर — साउदी अरबका राजा सलमानले छिट्टै आफ्ना छोरा तथा उत्तराधिकारीलाई राजगद्दी सुम्पिने घोषणा गर्न सक्छन् ।
शाही परिवारनिकट एक व्यक्तिले बेलायती पत्रिका द डेली मेललाई बताएअनुसार, अर्को हप्ता नै युवराज मोहम्मद बिन सलमान देशका नयाँ राजा हुन सक्नेछन् ।
बत्तीस वर्षीय युवराज सलमानले सत्तामा बलियो पकड बनाएका छन् र उनी राजा भए भने झनै बलिया हुनेछन् । हालै उनले भ्रष्टाचारको मामिलामा ४० भन्दा बढी राजकुमार र मन्त्रीहरूलाई पक्राउ गर्ने आदेश दिएका थिए ।
सूत्रले बताएअनुसार, अहिलेका राजा सलमान सेरेमोनियल रूपमा मात्र राष्ट्रप्रमुख हुनेछन् । आधिकारिक रूपमा सत्ता उनको छोरा बिन सलमानले सम्हाल्नेछन् । राजा रलमान चाहिँ पवित्र धार्मिक स्थलको संरक्षक मात्र बन्नेछन् ।
राजा बनेपछि बिन सलमानले इरानमा ध्यान केन्द्रित गर्नेछन् । उक्त देशसँग साउदी अरबको शत्रुता लामो समयदेखि चलिरहेको छ ।
इरानविरुद्ध सैन्य कारवाही साउदीले चलाउनसक्ने आशंका पनि गरिएको छ ।
यसबाहेक नयाँ राजाले शिया संगठन हिज्बुल्लाहलाई ध्वस्त पार्नका लागि इजरायली सेनालाई पनि सहयोग गर्न सक्छन् । इजरायलले मान्यो भने बिन सलमानले उसलाई आर्थिक सहायता पनि गर्न सक्नेछन् ।
बिन सलमानले पक्राउ गराएका राजकुमार तथा मन्त्रीहरूलाई विलासी होटल रिट्ज कार्लटनमा थुनिएको छ । उनीहरू त्यहाँ भुइँमै सुत्न बाध्य छन् ।
सूत्रका अनुसार, उनीहरूले दिनमा केही समय मात्र घरमा फोन गर्न पाउँछन् । उनीहरूले फोन रिसिभ गर्न पाउँदैनन् । कडा सुरक्षा घेरमा बसेका उनीहरू बाहिर जान पाउँदैनन् ।
एजेन्सी