
भारतको मुम्बईकी युवा ब्याटर इरा जाधवले अन्डर-१९ घरेलु क्रिकेट खेलमा तेहोरो शतक प्रहार गरेर ठूलो कीर्तिमान बनाएकी छिन्।
बीसीसीआई महिला अन्डर-१९ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा मुम्बईका लागि १४ वर्षीया इरा जाधवले कीर्तिमानी तेहोरो शतक प्रहार गरेकी हुन् ।
मेघालयविरुद्ध उनले १५७ बलमा अविजित ३४६ रन बनाएकी हुन् । यो अन्डर-१९ क्रिकेटमा कुनै पनि भारतीय खेलाडी (पुरुष वा महिला)को अहिलेसम्मकै उत्कृष्ट रेकर्ड हो। यसअघि यो रेकर्ड महाराष्ट्रकी स्मृति मन्धनाको नाममा थियो।
बेंगलुरुको अलुर क्रिकेट मैदानमा खेल्दै उनले मेघालयको बलिङ आक्रमणलाई चकनाचुर पारिन् । उनले ४२ चौका र १६ छक्का प्रहार गरिन्।
इराको पारीको मद्दतले मुम्बईले ५० ओभरमा तीन विकेट गुमाउँदै ५६३ रन बनाएको थियो । यो भारतमा कुनै पनि प्रतियोगिता र कुनै पनि उमेर समूहमा महिला टोलीले बनाएको उच्चतम स्कोर हो ।
खेलमा मेघालयले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। यसमा इराले ३४६ रन बनाइन् । हार्ले गालाले ११६ र दीक्षा पवारले ३९ रन बनाइन्।
इराले कप्तान हर्लीसँग मिलेर २७४ रन र दीक्षा पवारसँग मिलेर १८६ रन बनाएकी थिइन्।
५६४ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईका बलरहरूले मेघालय टोलीलाई खुलेर खेल्न दिएनन् र केवल २६ ओभरमा सम्पूर्ण टोलीलाई अलआउट गरे। मेघालयको टोलीले १९ रन मात्र बनाउन सक्यो।
मुम्बईको टोलीले यो खेल ५४४ रनको विशाल अन्तरले जित्यो। १९ फेब्रुअरी २०१० मा जन्मिएकी इरा अर्को महिना १५ वर्षकी हुनेछिन्।