नागरिक लगानी कोषको ३०औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
आज सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको रु ८६ करोड ९० लाखबाट सात प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो ।
साधारणसभाले कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले पेश गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।
अध्यक्ष थापाले कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आर्थिक वर्ष २०७९/८० मा रु दुई खर्ब दुई अर्ब सात करोड सङ्कलन भएकामा गत आर्थिक वर्षमा १२ दशमलव १९ प्रतिशतले बढेर रु दुई खर्ब २६ अर्ब ८३ करोड पुगेको बताए ।
त्यस्तै, चालू आर्थिक वर्ष २०८१/८२ को असोज मसान्तसम्ममा सङ्कलित गरेको रु दुई खर्ब ४२ अर्ब १५ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ ।
कोषले गत आर्थिक वर्ष २०८०/८१ मा रु दुई अर्ब सात करोड ६४ लाख कूल आम्दानी गरेकोमा सञ्चालन र अन्य खर्च कटाइ कर पछिको खुद मुनाफा रु एक अर्ब १५ करोड ८७ लाख रहेको छ ।
उक्त खुद मुनाफा रकमबाट रु २८ करोड ९६ लाख रकम जगेडा कोषमा राखी बाँकी रु ८६ करोड ९० लाखबाट सात प्रतिशत बोनस शेयर र छ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको सञ्चालन र व्यवस्थापनमा सुधारका लागि विभिन्न रणनीति अघि सारिएको बताए ।
'कोषले सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आधुनिक प्रणालीमार्फत सेवा सहज बनाउने योजनालाई प्राथमिकतामा राखेको छ । साथै, अनावश्यक बैंक खाता कटौती गर्दै वित्तीय व्यवस्थापनलाई सरल र पारदर्शी बनाउने कार्य भइरहेको छ,' उनले भने ।