
काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ।
बार एसोसिएसनका अध्यक्ष रामचन्द्र पौडेल र सचिव उज्वल राम श्रेष्ठले बुधबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका हुन् ।
‘काठमाडौं जिल्ला अदालतमा चलिरहेको संगठित रूपमा ठगि गरेको मुद्दामा थुनछेक बहस गरी अदालतबाट निस्कने क्रममा जाहेरवालाहरूको तर्फबाट बहस पैरवी गरेको विषयलाई लिएर अदालतको गेटमा उपस्थित भएका केही उच्छृङ्खल व्यक्तिहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीज्यूलाई हातपात, लछारपछार एवं कुटपिट गर्ने जस्ता अमानवीय व्यवहार एवं कार्य भएको घटनाप्रति यस बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
पक्षको तर्फबाट बहस पैरवी गरेको विषयमा कानून व्यवसायी माथि आक्रमण गर्ने कार्यबाट स्वतन्त्र सक्षम र निर्भीक न्यायपालिकामाथि आक्रमण भएको बारको ठम्याई छ ।
‘कानून व्यवसायीमाथि आक्रमण गर्ने कार्य अदालतमा पक्षको स्वतन्त्र प्रतिनिधित्वको सिद्धान्त विपरीतको कार्य हो । अदालतमा पक्षको प्रतिनिधित्व गरी बहस पैरवी गरेको विषयमा कानून व्यवसायी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीज्यूलाई आक्रमण गर्ने जस्ता अवाञ्छित गतिविधि गर्ने व्यक्तिहरूलाई अविलम्ब पक्राउ गरी प्रचलित कानून बमोजिम कारबाही गर्न सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, यो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको टीकाथली बस्ने ललित केसी रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।
परिसरका प्रमुख, एसएसपी बसन्त रजौरेका अनुसार पक्राउ परेका केसीमाथि थप अनुसन्धान भइरहेको छ । ‘प्रारम्भिक अनुसन्धानमा ललित केसीलाई पक्राउ गरेका हौं। थप अनुसन्धान हुँदैछ’, एसएसपी रजौरेले भने ।
बुधबार वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत अगाडि हातपात गरिएको थियो । हातपातमा संलग्न बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि रास्वपा कार्यकर्ताहरूले हातपात गरेको बताइएको छ । रास्वपाले भने आफ्ना कार्यकर्ताको संलग्नता देखिए कारबाही गर्ने बताएको छ ।
त्रिपाठीले रास्वपा सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा पीडित पक्षका तर्फबाट बहस गर्दै आएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतमा यो मुद्दामा थुनछेक बहस थियो ।
अदालतले रविलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएसँगै उनी धरौटी बुझाएर रिहा भइसकेका छन् ।