
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना मुद्दामा तीन दिन हिरासत बसेर रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतको आदेश बमोजिम लामिछानेले बैंक ग्यारेन्टी बुझाएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी अमर बहादुर चन्दले जानकारी दिए ।
बैंक ग्यारेन्टी बुझाएसँगै रविलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ । उनी आइतबार अदालतमा उपस्थित भएपनि थुनछेक नसकिएपनि न्यायिक हिरासतमा रहँदै आएका थिए ।
००००
काठमाडौँ जिल्ला अदालत परिसरमा रास्वपा र रवि लामिछाने समर्थकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेका छन् । सो आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको टीकाथली बस्ने ललित केसी रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । परिसरका प्रमुख, एसएसपी बसन्त रजौरेका अनुसार पक्राउ परेका केसीमाथि थप अनुसन्धान भइरहेको छ । त्रिपाठीले पीडितको पक्षमा बहस गरेकै आधारमा समर्थकले हातपात गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
००००
काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ।
बार एसोसिएसनका अध्यक्ष रामचन्द्र पौडेल र सचिव उज्वल राम श्रेष्ठले बुधबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका हुन् ।
००००
एमाले सचिव पद्मा अर्यालले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथिको आक्रमणले न्याय प्राप्तिको प्रक्रिया कति असुरक्षित छ भन्ने देखाएको टिप्पणी गरेकी छन् ।
यस्तै कांग्रेसले सहकारी रकम अपचलन तथा ठगी प्रकरण सम्बन्धमा काठमाडौँ जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहस सकिएपछि अदालत परिसरभित्रै वरिष्ठ अधिवक्ता त्रिपाठीलाई गरिएको दुव्र्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
जवाफदेहिता निगरानी समितिलगायतले पनि घटनाको विरोध गरेको छ ।
००००
यसैबीच रास्वपाले त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौँ परिसरमा भएको हातपातमाथि पार्टीका कोही सदस्य संलग्न भएको पाइए कारवाही गरिने बताएको छ ।
कार्यबाहक प्रवक्ता मनिष झाले यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनितिक दलको लागि स्वीकार्य नहुने बताए ।
००००
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
००००
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री अरुणकुमार चौधरीको सांसद पद जोगिएको छ ।
सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली क्षेत्र नं २ बाट निर्वाचित चौधरीको योग्यता विवादसम्बन्धी रिट बुधबार खारेज गरिदिएसँगै उनको सांसद पद जोगिएको हो ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले विवादास्पद भूमि सम्बन्धी अध्यादेश जारी गरेका छन् । उनले बुधबार उक्त अध्यादेश जारी गरेका हुन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
यसअघि शीतलनिवासले सो अध्यादेश विवादित रहेको भन्दै रोकेपछि राष्ट्रपतिले अहिले आएर हुबहु पारित गरिदिएका हुन् । यो अध्यादेशको आलोचना समेत भएको छ ।
यसैबीच सरकारले भने सेवा प्रवाह, लगानी र आर्थिक क्रियाकलापलाई थप सहज बनाउन अध्यादेश ल्याएको भन्दै यसका मुख्य विषयहरू सार्वजनिक गरेको छ ।
आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धि, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा, भूमि तथा वनसम्बन्धी अध्यादेशमार्फत ऐन संशोधन गरिएको सरकारले जनाएको छ ।
००००
समाजवादी मोर्चाको बैठकले सदनलाई छलेर अध्यादेशबाट शासन गर्ने गरी सरकार निरकुंश ढंगले अगाडि बढ्न खोजेको भन्दै विरोध जनाएको छ ।
नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले अध्यादेशबाट शासन गर्न खोजेको विषयबारे गम्भीर समीक्षा गरेको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
००००
शेयर बजारमा बुधबार झिनो अंकको वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्से १.८३ अंकले बढेर २५९५.९६ बिन्दुमा कायम भएको छ ।