२९ जेठ २०८३, शुक्रबार
रक्तचन्दन तस्करीको भित्री पाटो

रक्तचन्दन तस्करीमा सिन्धुपाल्चोकका माओवादी नेताको संलग्नता, भारतमा भएको थियो ‘डील’

माघ ४, २०८१
काठमाडौं
रक्तचन्दन तस्करीमा सिन्धुपाल्चोकका माओवादी नेताको संलग्नता, भारतमा भएको थियो ‘डील’

प्रहरीले मंगलबार बरामद गरेको ४३१ किलो रक्तचन्दनसम्बन्धी अनुसन्धानका क्रममा सिन्धुपाल्चोकका माओवादी नेता ज्ञानबहादुर तिमल्सिनाको भूमिका खुलेको छ । 

तिमिल्सिना नेकपा (माओवादी केन्द्र) बलेफी काठमाडौं सम्पर्क समितिका उपाध्यक्ष हुन् । गत असोजमा भएको समितिको दोस्रो सम्मेलनबाट उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । 

प्रहरीले तिमल्सिनासँगै कलंकी बस्ने रमेश थापालाई पनि पक्राउ गरेको थियो । पेप्सीकोलामा रहेको तिमल्सिनाको डेरामा बोराभित्र लुकाइराखेको अवस्थामा रक्तचन्दन फेला परेको थियो । 

थापाले भारतबाट उक्त रक्तचन्दन काठमाडौं ल्याउने डिल गरेका थिए ।

गत पुस १९ गते रक्तचन्दन भारतीय गाडीमा राखेर रक्सौलबाट वीरगञ्ज र त्यहाँबाट बर्दिबास हुँदै सिन्धुलीको बाटो पेप्सीकोलासम्म ल्याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

भारतीय कारोबारीले काठमाडौंमा ‘लामा’ थरका व्यक्ति रिसिभ गर्न आउने जनाएपछि तिमल्सिना र थापाले रक्तचन्दन ल्याएर राखेका थिए ।

रक्तचन्दन लामालाई दिएबापत उनीहरूलाई ६ लाख रुपैयाँ दिने कारोबारीको आश्वासन थियो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाका आधारमा तिमल्सिनाको पेप्सीकोलास्थित डेराबाट लुकाइराखेको अवस्थामा रक्तचन्दन फेला पारेको थियो ।

अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार रक्तचन्दन तस्करीका लागि डिल गर्ने व्यक्ति थापा हुन् ।

थापाकै सल्लाहमा तिमिल्सिनाले डेरामा रक्तचन्दन लुकाएर राखेका थिए । प्रहरीका अनुसार रमेश यसअघि पनि चेक बाउन्स मुद्दामा पक्राउ परेर छुटेका व्यक्ति हुन् । 

null

उनले नै भारतीय कारोबारीसँग कुरा गरेर रक्तचन्दन ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तिमल्सिनाले पैसा पाउने लोभमा डेरामा रक्तचन्दन लुकाएका थिए । 

‘रक्तचन्दन कारोबारबारे जान्ने व्यक्ति थापा हुन्, तर पैसा पाउने आशामा तिमल्सिनाले पनि तस्करीलाई साथ दिएको देखिन्छ,’ एसपी आचार्यले लोकान्तरसँग भने, ‘चीनतर्फ तस्करी हुन लागेको सूचना पाएलगत्तै हामीले बरामद गरेका हौं ।’ 

आचार्यका अनुसार पछिल्लोपटक तरल पदार्थमा रक्तचन्दन तस्करी हुँदै आए पनि गोलिया बनाएर तस्करी हुन लागेको धेरैपछिको घटना हो ।

२०६० को दशकमा भारतबाट अवैध तबरले नेपालको बाटो हुँदै रक्तचन्दन संगठितरूपले चीनतर्फ तस्करी हुने गरेको थियो ।

रक्तचन्दन विश्व वन्यजन्तु तथा वनस्पतिको नियमन गर्ने अभिसन्धि (साइटिस) को अनुसूची–२ मा सूचीकृत प्रजातिको वनस्पति हो । 

साइटिसको अनुसूची– २ मा संकटापन्न वनस्पतिलाई राखिन्छ, जसको ओसारपसार प्रतिबन्धित हुन्छ । नेपाल पनि साइटिस अभिसन्धिको हस्ताक्षरकर्ता देश हो । 

प्रहरी प्रधान कार्यालयका अनुसार विगत ५ आर्थिक वर्षमा योसहित १ हजार १ सय ६ किलो रक्तचन्दन बरामद भएको छ ।

यसअघि गत वर्षको असोज १४ मा कपिलवस्तु प्रहरीले ६ सय ५३ किलो १ सय ग्राम, रसुवा प्रहरीले गत वर्ष भदौ ८ गते १ सय ५० ग्राम र ललितपुर प्रहरीले २०७७ मंसिर १९ गते २२ किलो ६६ ग्राम रक्तचन्दन बरामद गरेको प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्