
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेको सरकार नै संविधानको मर्मविपरीत बनेको जिकिर गरेका छन् ।
विपक्षी ६ दलको बैठकपछि पत्रकार सम्मेलन गर्दै प्रचण्डले यसैले आफूले सरकार टिक्दै भनेको दाबी गरे ।
‘सरकार जे तरिकाले बन्यो, जुन अपारदर्शी तरिकाले बनेको छ यसैले सरकार टिक्दैन भनेका हुँ,’ प्रचण्डले भने, ‘संविधानको मर्म र भावनाविपरीत गएर सरकार बनेको छ । यसैले चल्दैन भनेको हो । पहिलो र दोस्रो दल मिलेर सरकार बन्दैनन् यसैले यो संविधानको भावना विपरीत छ ।’
प्रचण्डले सरकार बनाउने प्रक्रियामा पनि जबर्जस्त गरिएको दाबी गरे ।
‘प्रक्रिया अनुसार संविधानको धारा ७६(३) अनुसार सरकार गठन गर्नुपर्थ्यो र तर जबर्जस्त गरेर संविधानको ७६(२) अनुसार बनाइयो,’ प्रचण्डले भने, ‘अर्कोतिर यो सरकारले नागरिकमा विश्वास गुमाउँदै गएको छ । यसैले यसको औचित्य छैन भनेको हुँ ।’
विपक्षी मोर्चामा संसद्का ६ दल रहेको र अन्य दललाई पनि समेट्ने प्रयास भएको प्रचण्डले बताए ।
प्रचण्डले प्रधानमन्त्री आफैंले संविधान संशोधन २०८७ मा हुने बताएको र कुनै प्रभावकारी डेलिभरी दिन नसकेकाले नैतिक रूपमा सरकारमा बस्ने आधार गुमाएको दाबी पनि उनले गरे ।
‘प्रधानमन्त्री आफैंले संविधान संशोधन ०८७ मा मात्रै हुन्छ भनिसक्नुभयो । सुशासन र जनतालाई डेलिभरी दिने बाटोमा पनि सरकारको गतिविधि उल्टो छ,’ प्रचण्डले भने, ‘यसरी नैतिक धरातल गुमाएपछि नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनु उचित हुन्छ ।’
तर आफूहरूले सरकारमा जानको लागि यस्तो नभनेको दाबी उनले गरे ।