
डोनाल्ड ट्रम्पले २०२४ को अमेरिकी राष्ट्रपतीय चुनाव जितेर आउँदो सोमबार दोस्रो कार्यकालको शपथ लिने तयारी गरिरहेका छन् ।
पहिलो कार्यकाल (सन् २०१७ देखि २०२१सम्म ) मा विवादित बनेका ट्रम्पका लागि आगामी कार्यकाल पनि सहज नहुने टिप्पणी अमेरिकी सञ्चारमाध्यमहरूले गरिरहेका छन् ।
उनले राष्ट्रपतिका रूपमा बिताउने आगामी ४ वर्षमा थुप्रै गम्भीर चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छ ।
राजनीतिक प्रतिशोधदेखि न्याय प्रणालीका विवाद, मिडिया आलोचना र समर्थकलाई सन्तुलनमा राख्नुपर्ने दायित्व जस्ता विषयहरू उनका लागि नयाँ चुनौती हुन सक्छन् ।
ट्रम्पले चुनावी अभियानमा आफ्ना राजनीतिक विरोधीमाथि कडा निशाना साँधेका थिए । 'जब यो चुनाव सकिन्छ, म मेरा राजनीतिक प्रतिद्वन्द्वीलाई निशानामा राख्नेछु,' उनले एक अन्तर्वार्तामा भनेका थिए ।
यस्तो अभिव्यक्तिले ट्रम्प प्रशासन 'प्रतिशोध'मा केन्द्रित हुने संकेत गरेको छ ।
यसबारे राजनीतिक विश्लेषक माइकल वुल्फ भन्छन्, 'ट्रम्पको यस्तो दृष्टिकोणले अमेरिकी लोकतन्त्रमा नयाँ प्रकारको विभाजन ल्याउने सम्भावना छ । यो कुनै पनि राष्ट्रका लागि खतरनाक हुन सक्छ ।'
२०२१ को जनवरी ६ मा भएको क्यापिटल हल आक्रमणको छानबिनमा महत्त्वपूर्ण भूमिका खेलेकी पूर्व रिपब्लिकन सांसद लिज चेनीले पनि ट्रम्पको प्रतिशोधी भावनाले अमेरिकी न्यायप्रणालीलाई नष्ट गर्ने टिप्पणी गरेकी छन् ।
एक अन्तर्वार्तामा उनले भनेकी छन्, 'यदि ट्रम्पले आफ्नो राजनीतिक विरोधीहरूमाथि कानूनी हतियार प्रयोग गरे भने यसले अमेरिकी न्याय प्रणालीलाई नष्ट गर्नेछ ।'
न्याय प्रणालीमाथिको दबाब
ट्रम्पले एफबीआई (संघीय जाँच ब्यूरो)को प्रमुखका रूपमा काश पटेललाई नियुक्त गर्ने इच्छा प्रकट गरेका छन् । काश पटेलले न्याय प्रणालीलाई राजनीतिकरूपमा पक्षपाति भएको भन्दै यसलाई सुधार्ने योजना प्रस्तुत गरेका छन् ।
तर, वाशिङ्टन पोस्टले आफ्नो सम्पादकीयमा लेखेको छ, 'काश पटेलजस्तो विवादास्पद व्यक्ति न्याय संस्थाको नेतृत्वमा आउनु भनेको अमेरिकी कानूनी प्रणालीको विश्वसनीयतालाई कमजोर बनाउनु हो ।'
पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले पनि पटेलको नियुक्ति गलत रहेको टिप्पणी गरेका छन् । उनले भनेका छन्, 'काश पटेलको नियुक्ति गलत निर्णय हुनेछ । सिनेटले यो प्रस्तावलाई अस्वीकार गर्नुपर्छ ।'
जनवरी ६कोघटना
४ वर्षअघि जनवरी ६ मा क्यापिटल हलमा आक्रमण गर्ने आक्रमणकारीका परिवारले उनलाई आम माफी दिन अपिल गरिरहेका छन् । तर, यो मुद्दामा ट्रम्पको धारणा अस्पष्ट छ ।
उनले भनेका छन्, 'हामी सबैलाई हेर्नेछौं । केहीलाई माफी दिने प्रयास गर्छौं ।'
यस सन्दर्भमा रिपब्लिकन सिनेटर जेडी भान्स भन्छन्, 'यदि कसैले हिंसा गरेको छ भने उसलाई माफी दिनु अनुचित हुनेछ । ट्रम्पले यसमा सावधानीपूर्वक निर्णय लिनुपर्छ ।'
तर, डेमोक्र्याट रणनीतिकार एश्ले इटिनेले ट्रम्पले हिंसामा संलग्न मानिसलाई माफी दिने हो भने उनले आफूलाई कानून र व्यवस्था मान्ने पार्टीको नेता भनेर प्रस्तुत गर्न नमिल्ने टिप्पणी गरेका छन् ।
मिडियाकसरी फेस गर्लान् ?
ट्रम्पले आफूविरुद्ध समाचार प्रकाशन/प्रसारण गर्ने सञ्चारमाध्यमविरुद्ध कानूनी कारबाही गर्ने भन्दै लामो सूची बनाएका छन् । उनले केही लेखक, समाचार संस्था र पत्रकारमाथि यसअघि मुद्दासमेत दायर गरेका छन् ।
एफबीआई प्रमुखको दाबी गरिरहेका ट्रम्पका कट्टर समर्थक पटेल भन्छन्, 'हामीले झुट बोल्ने मिडियालाई ठीक पार्नुपर्छ । उनीहरूले अमेरिकी नागरिकको भावनामा चोट पुर्याएका छन् ।'
यसबारे टिप्पणी गर्दै सीएनएनका राजनीतिक विश्लेषक जेक ट्यापरले ट्रम्पले पत्रकारितामाथि आक्रमण गर्न नसक्ने बताउँछन् । उनले भनेका छन्, 'ट्रम्पले पत्रकारितामाथि यस्तो आक्रमण गर्दा अमेरिकी सञ्चारमाध्यमहरू प्रेस स्वतन्त्रताको क्षेत्रमा धेरै पछि पर्नेछन् ।'
आर्थिक र सामाजिक चुनौती
ट्रम्पले चुनावी अभियानमा अमेरिकालाई आर्थिकरूपमा सबल बनाउने वाचा गरेका थिए । तर, बढ्दो मुद्रास्फीति र समाजको ध्रुवीकरणले उनको वाचा पूरा हुनेमा अमेरिकाका अधिकांश सञ्चारमाध्यमले आशंका व्यक्त गरेका छन् ।
यसबारे अर्थशास्त्री पौल क्रुगम्यान भन्छन्, 'ट्रम्पले आफ्नो पहिलो कार्यकालमा गरेको कर कटौतीको निर्णयले निम्न वर्गको अर्थव्यवस्थामा सकारात्मक असर गर्न सकेन । दोस्रो कार्यकालमा उनी यो चुनौती कसरी हल गर्छन्, त्यो हेर्नुपर्नेछ ।'
ट्रम्पको दोस्रो कार्यकालबारे टिप्पणी गर्दै राजनीतिक विश्लेषक शेरमाइकल सिङ्गलटनले ट्रम्पले विगतका मुद्दालाई प्राथमिकता दिए भने उनले आफ्नो समर्थकको विश्वास गुमाउन सक्ने बताएका छन् ।
उनले भनेका छन्, 'अमेरिकाले भविष्यको दिशा खोजिरहेको छ, विगतको झगडामा फस्न चाहँदैन ।'