
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी नेताहरूले गैरकानूनी ढंगले सम्पत्ति आर्जन गरेको देखिए कारबाही गर्ने बताएका छन् ।
शुक्रबार साँझ विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले केन्द्रीय सदस्यहरूलाई सम्पत्तिको स्रोत देखाउन पनि आग्रह गरे ।
माओवादीको केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने निर्णय गरेको थियो । ‘सम्पत्ति विवरण बुझाउनुपर्ने मात्रै नभएर सम्पत्तिको स्रोत पनि देखाउनुपर्छ,’ उनले भने ‘गैरकानूनी ढंगले कमाएको देखिए कारबाही गर्छौं ।’
सम्पति आर्जनको स्रोत खुलाउन नसके कारबाहीको दायरामा ल्याइने उनले बताए ।
प्रचण्डले वर्तमान गठबन्धन अप्राकृतिक रहेको र राजनीतिक दुर्घटनाको जोखिम रहेको पुनः दोहोर्याए । ‘यो गठबन्धन बनेदेखि नै मुलुकमा राजनीतिक दुर्घटनाको खतरा बढेको छ । सदन बोलाउनुपर्ने बेलामा अध्यादेश आएको छ । त्यो पनि संविधान र कानून मिचेर ल्याइएको छ । सदनमा छलफलको क्रममा रहेको विधेयकसँग सम्बन्धित विषय पनि अध्यादेश आएको छ । त्यही कारण विपक्षी सात राजनीतिक दलको बैठक बसेर त्यसको विरोधमा खडा भएका छौं । यो अध्यादेश फिर्ता लिनु जरुरी छ । किन भने दुईतिहाइ भएको सरकारले सदनबाटै कानून ल्याए भइगयो नि रु सदनमा लगेर कानून बनाए भयो नि ? तर, किन अवैध ढंगबाट ल्याइयो ?,’ उनले भने ।
उनले आफूले सरकार ढल्छ नभनेको प्रस्टीकरण दिएका छन् । ‘सरकार जुन बाटोबाट हिँडेको छ । त्यो असहज बाटो छ । त्यसले लोकतन्त्र र संविधानलाई दुर्घटनातिर लैजाने बाटोमा छ भन्ने कुरा हो । अर्को कुरा सरकारमा जाने हतारो छैन । सरकारको उल्टो यात्राले सरकार ढल्छ भनेको हो,’ प्रचण्डले भने, ‘दुईतिहाइको अहंकार देखाउँदै जाने, संविधान मिच्दै जाने, अध्यादेशबाट शासन गर्दै जाने र भ्रष्टाचारीलाई जोगाउँदै जाने हो भने सडकबाट ठूलो संघर्ष हुन्छ । यो कुरा हामीले सरकारलाई चेतावनी दिएका हौं ।’
उनले सरकारले हल्का रूपमा लियो भने सडकमा ठूलो आन्दोलनको परिस्थिति सिर्जना हुने चेतावनी दिए ।