
संयुक्त बजार अनुगमन टोलीले चन्द्रागिरि नगरपालिकाभित्र सञ्चालित खाद्यन्न/किराना पसल, पानी उद्योग, खानेतेल (तोरी मिल) उद्योग एवं दूग्धजन्य डेरी उद्योगमा अनुगमनलाई तीब्रता दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा हालै प्रयोगमा ल्याइएको अत्याधुनिक घुम्ति प्रयोगशाला ‘फुडल्याब भ्यान’मार्फत स्थलगत परीक्षण टोलीमा चन्द्रागिरि नगरपालिकासहित जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी वृत्त थानकोट र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको प्रतिनिधि थिए ।
टोलीले अनुगमनका क्रममा चन्द्रागिरि–१२ स्थित बलम्बुमा रहेको ह्वाइट हिमालयन मिल्क प्रालिले बिक्रीवितरणका लागि तयार गरेको दूधको परीक्षण गर्दा अखाद्य बस्तु अर्थात ‘न्युट्रलाइजर पोजेटिभ’भेटिएको र तत्काल ६०० लिटर दूध नष्ट गरेको थियो ।
साथै उद्योगबाट उत्पादित अखाद्य घिउ, नौनी तथा पनिरसमेत अनुगमन टोलीले नष्ट गरेको थियो । नगरपालिकाले उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार दुईलाख जरिवाना गराइएको जनाइएको छ ।
दूध तथा दूग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका २०७५ अनुसार उद्योगको दूधको गुणस्तर मापदण्ड जाँच गरिएको थियो । अनुगमन टोलीले चन्द्रागिरि वडा नं ११, १२ र १४ मा सञ्चालित विभिन्न तोरी मिलको अनुगमनसमेत गरेको नगरपालिकाले जनाएको छ ।
यसक्रममा ती मिलबाट उत्पादित तेलको गुणस्तर जाँच गर्दा अखाद्यबस्तु मिसावट गरेको नभेटिएको चन्द्रागिरि नगरपालिका उद्योग, वाणिज्य तथा व्यवसाय प्रवद्र्धन शाखाले जनाएको छ ।
संयुक्त बजार अनुगमन टोलीले गत पुसको अन्तिम साता नै चन्द्रागिरि नगरपालिका वडा नं ८ भित्र सञ्चालित केही खानेपानी उद्योगमा आकस्मिक अनुगमन गरेको थियो ।
यस क्रममा पानीको गुणस्तर जाँच गरिएका उद्योगद्वारा उत्पादित पानी मापदण्डभित्रै रहेको भेटिएको थियो । अनुगमनका क्रममा टोलीले पानी भर्न अयोग्य केही बोतल तथा जार नष्टगरेको जनाइएको छ ।
ललितपुरका यी स्थानमा आज काटिदैछ बिजुली
नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।
प्राधिकरणले सूचनामार्फत् पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडरअन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुने जानकारी दिएको छ ।
प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भए बिजुली प्रवाह शिघ्रसमेत हुने जनाएको छ ।
बिजुली कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।