
रसुवा, २ मंसिर– ट्वाइलेट पेपर भन्दै सुन तस्करी गरिरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
नेपाल–चीन नाका रसुवाबाट १७ किलो सुनसहित एकजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पार्वतीकुण्ड गाउँपालिका–५ पाजुङका ३१ वर्षका कार्साङ दावा तामाङ रहेका प्रहरीले जनाएको छ ।
चीनबाट ट्वाइलेट पेपर ल्याउने भनेर आएको बा११च ७९१८ नम्बरको बोलेरो जिपमा सुन फेला परेको हो । चीनको केरूङबाट बा ११ च ७९१८ नम्बरको बोलेरोमा फल्स बटम बनाई सुन ल्याएको विशेष सुराकी पाएपछि गाडीको जाँच गर्ने क्रममा सुन फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
ट्वाइलेट पेपर र सरफ बोकेर आएको उक्त बोलेरोमा सामग्री राख्ने ठाउँमा नै फल्स बटम बनाएर सुन ल्याइएको थियो ।