०५ साउन २०८३, मंगलबार

प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’

माघ ५, २०८१
पाँचथर
प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’

बर्सेनि प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गरेपछि पाँचथरका दुई वटा खोलाको किनारामा प्रकृतिसँग माफी माग्ने कार्यक्रम आजदेखि सञ्चालन हुँदैछ ।

आध्यात्मिक मान्यता तथा किम्बदन्तीहरूलाई आधार मान्दै यहाँ बग्ने हेवा खोला र फेमे खोलाको किनारा फिदिम नगरपालिका वडा नम्बर ४ र ११ को सीमा क्षेत्रमा लक्ष्य हवन र प्रकृति पूजा गर्न लागिएको हो ।

यी दुई खोलामा विगत दुई वर्षमा आएको बाढीले फिदिम नगरपालिका, हिलिहाङ र फालेलुङ गाउँपालिकाका तटीय क्षेत्रमा अत्यधिक क्षति पुर्‍याएको छ ।

खोलालाई अप्राकृतिक रूपमा नियन्त्रण गरिएका कारण प्रकृतिमाथि शोषण भएको ठहरका साथ माफी माग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष तिलविक्रम इधिङ्गोले जानकारी दिए ।

'प्रकृतिको पूजा गर्ने, क्षमा पूजा गर्ने हाम्रो परम्परा नै हो । यसको निरन्तरताका लागि क्षमा पूजा गर्न लागिएको हो,' इधिङ्गोले भने, 'प्रकृतिमाथिको दोहन र नियन्त्रणलाई कम गर्ने सन्देश दिनु पनि यसको उद्देश्य हो ।'

आजदेखि चल्ने क्षमा पूजा तथा प्रकृतिमा पूजामा लगातार चार दिन ब्राम्हणहरूबाट पाठ हुनेछ भने त्यसपछिका तीन दिन वरुण पुराण वाचन हुनेछ । लक्ष्य हवन र प्रकृति पूजा हेवा र फेमे खोलाको सङ्गम स्थलमा हुनेछ ।

उक्त पूजामा जम्मा एक सय ५० किलो तिलको एक लाख २५ हजार हवन हुने आयोजक मध्येका सुवराज थापाको भनाइ छ ।

उक्त पूजाको आयोजनामा कुनै पनि सङ्घ संस्था सम्बद्ध नरहेको तथा पूजाका लागि कुनै पनि रकम सङ्कलन नगरिने आयोजकको भनाइ छ ।

स्थानीयवासी, आध्यात्मिक क्षेत्रका व्यक्ति तथा संस्थाले पूजाको आयोजना, व्यवस्थापन तथा खानपानको व्यवस्था मिलाउने भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्