
पालुङटार, २ मंसिर– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमाले र माओवादी केन्द्रको वाम गठवन्धनले देशमा अनिस्टको संकेत गरेको बताएका छन् । शनिवार गोरखाको पालुङटारमा आयोजित चुनावी सभामा बोल्दै पौडेलले देशका सबै समस्या कांग्रेसले मात्रै समाधान गर्ने भन्दै वाम गठवन्धनले संकट निम्त्याउने आरोप लगाए ।
‘वाम गठवन्धनले देशमा अनिस्टको संकेत गरेको छ,’ नेता पौडेलले भने, ‘यो गठवन्धन देशको हितमा छैन । देशका सबै समस्याको समाधान कांग्रेसले मात्रै गर्छ ।’
गोरखा–२ अन्तर्गत पर्ने पालुङटारमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र नेपाली कांग्रेसले शनिवार संयुक्त चुनावी सभा आयोजना गरेका हो । नेता पौडेलले बाबुराम भट्टराईकै अगाडि प्रत्यक्ष कार्यकारीसहितको शासकीय व्यवस्थाले देशमा सद्दाम हुसैन जन्मिने बताए । ‘समावेशी लोकतन्त्रका लागि संसदीय अभ्यास नै उक्तम हुन्छ,’ पौडेलले भने ।
कांग्रेसको समर्थनमा गोरखा–२ का उम्मेदवार रहेका डा. भट्टराई भने प्रत्यक्ष कार्यकारी शासकीय प्रणालीको पक्षमा अभियान नै चलाउँदै आएका छन् ।
नेता पौडेलले एमाले अध्यक्ष केपी ओलीलाई लुई १४औं बन्न खोजेको बताए । एमाले अध्यक्ष ओलीमा तत्कालीन फ्रान्सेली राजा लुई १४औंको जस्तै ‘म नै राज्य हुँ’ भन्नेखालको दम्भ रहेको पौडेलले आरोप लगाए ।
एमाले अध्यक्ष ओलीले मधेसी जनतालाई भड्काएर देश नै विखण्डतरि लगिसकेको भन्दै नेता पौडेलले भने, ‘असली राष्ट्रवादी भनेको नेपाली कांग्रेस हो ।’
प्रचण्ड र ओलीमा सर्प देख्दा हात बाहिर निकाल्ने र माछो देख्दा दुलोमा हात हाल्ने प्रवृत्ति रहेको पौडेलले टिप्पणी गरे । पौडेलले दुवै नेतामा चरम महत्वकांक्षा रहेको भन्दै ओली र प्रचण्डले सम्राट बन्ने खोजेको आरोप पनि लगाए ।