
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१३ मा स्कूल बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ आइरहेको बा १८ प ८३२५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ प ७९ नम्बरको सङ्कल्प विद्या आश्रमको बसले ठक्कर दिँदा उदयपुरको एकै परिवारका तीन जना घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार घाइते हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–६ देउरीका ४० वर्षीय किरण थापा, उनकी श्रीमती २५ वर्षीया सुधा घिमिरे थापा र ११ वर्षीया छोरी शैलजाकुमारी थापा रहेका छन् ।
घाइतेको लहान प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
घाइते किरण सिरहाको मिर्चैया नगरपालिकास्थित स्वस्तिक पाठशाला स्कूलमा लेखापालको रूपमा कार्यरत थिए ।
उनी घर फर्किने क्रममा दुर्घटना परेका हुन् । बस चालक दीपेशकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।