
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्ध ८ करोड ३५ लाख बिगो दाबी गर्दै जिल्ला अदालतमा पूरक अभियोजन दर्ता गरेको छ ।
जिल्ला अदालत रुपन्देहीमा आइतबार गरिएको पूरक अभियोजनमा लामिछाने सञ्चालक रहेको गोरखा मिडियामा सहकारीको १० करोड ९९ लाख हिनामिना भएको दाबी गरिएको छ । अभियोजन पत्रमा लामिछानेले सहकारी ठगी गर्ने अभिप्रायले सरकारी निकायमा झुटा प्रमाण पेस गरेको समेत आरोप लगाइएको छ ।
लामिछानेले गोरखा मिडियाको आर्थिक पाटो आफूलाई थाहा नभएको दाबी गरेपछि उनको बयान प्रमाणले खण्डित हुने अभियोजन पत्रमा उल्लेख छ । ‘प्रतिवादी रवि लामिछानेले झुटा प्रमाण पेस गरी निजको नाममा रहेको शेयर विक्री गरी ०७९ असार १ बाट अलग भएपश्चात पनि विभिन्न व्यक्ति र कम्पनीलाई भुक्तानी गरेको देखियो । उक्त खाताबाट आफू स्वयंले हस्ताक्षर गरी ७१ लाख ८० हजार भुक्तानी दिएको र आफ्नो नाममा समेत ९ लाख ८५ हजार ७ सय ४९ रुपैयाँ रकम लिएकोले निजको रकम अपचलन गर्ने मनसाय प्रस्ट देखिन्छ,’ अभियोजनपत्रमा भनिएको छ ।
सुप्रिमबाट लामिछानेको नाममा २ करोड रुपैयाँ गएको यसअघि सार्वजनिक भएपनि लामिछानेले आफूलाई थाहा नभएको बताएका थिए । प्रतिवादी कुमार रम्तेलले गोरखा मिडियामा रकम लैजाने मासिन र रवि लामिछानेको नाममा रकम लैजाने व्यक्ति एकै हुन भनेर दिइएको बयानका आधारमा रकम रविले नै लगेको दाबी अभियोजन पत्रमा गरिएको छ ।
प्रतिवादी रोशनी गुरुङको बयानमा समेत २ करोड सहकारी संस्थाको तर्फबाट गोरखा मिडिया नेटवर्कमा जम्मा भएको सहकारी संस्थाको सफ्टवेयरबाट खुलेको अभियोजन पत्रका उल्लेख छ । ‘लामिछाने सञ्चालक रहेको मिडियामा १० करोड ९९ लाख ३६ हजार हिनामिना गरी फिर्ता भएको देखिएन’ अभियोजन पत्रमा उल्लेख छ ।
जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दर्ता भएको र सोमबारदेखि बयान गर्ने तयारी छ । जिल्ला अदालत कास्की र काठमाडौँबाट धरौटीमा रिहा भएका लामिछाने बयानका लागि सोमवार आफै अदालतमा उपस्थित हुने तयारी गरेका छन् ।
भोलिदेखि नै बयान सुरु हुने अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले लोकान्तरलाई जानकारी दिए ।


