
कालीकोटको खाँडाचक्र नगरपालिका–१ स्थित पञ्चदेव माध्यमिक विद्यालयमा बहुप्राविधिक शिक्षालय, आवासीय र प्रशासनिक भवन निर्माण भएका छन् ।
विद्यालयका शिक्षालय, आवासीय र प्रशासनिकगरी तीनवटै भवन दुई करोड ३५ लाख २२ हजार ३९ को लागतमा निर्माण भएको प्रधानाध्यापक बीनाकुमारी शाहीले जानकारी दिइन् ।
'सङ्घीय सरकार र प्रदेश सरकारमार्फत आएको बजेटले प्रशासनिक भवन, बहुप्राविधिक शिक्षालय भवन र आवासीय भवन निर्माण थालिएको थियो,' उनले भनिन्, 'तीनवटै भवन निर्माण भएपछि आइतबार कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नुभएको छ ।'
विद्यालयको उद्घाटन गर्दै पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भवनको अभावमा कोही पनि विद्यार्थी खुल्ला आकाशमा पठनपाठन गर्न बाध्य नहुने बताए ।
विद्यार्थीलाई रोजगार र स्वरोजगार बनाउने उद्देश्यले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरिएको खाँडाचक्र नगरपालिकाका उपप्रमुख तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर शाहीले बताए ।