२३ असार २०८३, मंगलबार

बालेनले कवाड व्यवसायमा अवरोध गरेपछि उपेन्द्र यादवलाई बुझाइयो ज्ञापनपत्र

माघ ८, २०८१
काठमाडौं
बालेनले कवाड व्यवसायमा अवरोध गरेपछि उपेन्द्र यादवलाई बुझाइयो ज्ञापनपत्र

कवाड व्यवसाय सञ्चालनमा आबद्ध व्यवसायीहरूले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ज्ञापनपत्र बुझाएका छन् ।

काठमाडौं महानगरपालिकाले आफूहरूलाई व्यवसाय सञ्चालनमा अवरोध गरेको भन्दै उनीहरूले जसपा नेपालका अध्यक्ष यादवलाई ज्ञापनपत्र बुझाएका हुन् ।

कवाड व्यवसायी समाज नेपाल, काठमाडौंको तर्फबाट अध्यक्ष राम केवल गुप्तासहितले मंगलबार यादवलाई भेटेर स्वतन्त्रपूर्वक व्यवसाय सञ्चालन गर्न पाउने वातावरण मिलाइदिन आग्रह गरे । 

महानगरपालिकाले एक वर्षदेखि कवाडमा व्यापक तोड‍फोड गरेको, कवाड व्यवसायीका सामान जफत गर्ने, व्यवसायीलाई कुटपिट, गाली गलौज तथा अभद्र व्यवहार गर्ने गरेको उनीहरूको गुनासो छ । 

‘प्रचलित कानून बमोजिम दर्ता भई आफ्नो पेशा व्यवसाय गर्दै आएका कवाड व्यवसायीमाथि भइरहेका यस्ता खालका अराजक गतिविधि रोक लगाई हामी कवाड व्यवसायीको जिउ धनको सुरक्षाको माग गर्दै स्वतन्त्र रूपमा आफ्नो पेशा व्यवसाय गर्न पाउने हकको लागि माननीयज्यूसमक्ष अनुरोध गर्न चाहन्छौं’, पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ । 

सरकारको प्रचलित कानून बमोजिम सम्बन्धित निकायको अनुमतिमा काठमाडौं महानगरपालिकाका विभिन्न वडामा कवाड व्यवसाय सञ्चालन गर्दै आएको र सरकारलाई तिर्नुपर्ने सम्पूर्ण कर तिर्दै आएको व्यवसायीहरूले उल्लेख गरेका छन् ।

‘हाल यो व्यवसायमा एक लाख मानिस प्रत्यक्ष रोजगारमा आबद्ध रहेको कुरा यहाँलाई अवगत गराउन चाहन्छौं । देशमा सञ्चालित उद्योगहरूलाई चाहिने कच्चा पदार्थ कवाड व्यवसायीले आपूर्ति गर्दै आएको छ र देशको व्यापार घाटा कम गर्न कवाड व्यवसायको भूमिका रहेको छ । कवाडी व्यवसायीहरूले वातावरणीय सरसफाइमा पनि योगदान गरेका छन्’, ज्ञापनपत्रमा भनिएको छ ।

कवाड व्यवसायीहरूले केही समय पहिले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई पनि ज्ञापनपत्र बुझाएका थिए । मुख्यमन्त्री सिंहको सचिवालयले कवाड व्यवसाय सञ्चालनमा अवरोध नगर्न काठमाडौं महानगरलाई अनुरोध गरेको थियो । 

null

salt training

कमेन्ट गर्नुहोस्