
टर्कीको प्रसिद्ध स्की रिसोर्टमा आगलागी हुँदा मृत्यु हुनेको संख्या कम्तीमा ७६ पुगेको छ । टर्कीको गृह मन्त्रालयले यो जानकारी दिएको हो । आगलागीमा मारिएका सबैको सनाखत हुन सकेको छैन ।
टर्कीका स्वास्थ्यमन्त्री केमाल मामिसोग्लुले दुर्घटनामा ५१ जना घाइते भएको बताएका छन् । तीमध्ये एक जना आईसीयूमा छन् । यसबाहेक १७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
आगो नियन्त्रण गर्न १२ घण्टा लागेको थियो । टर्कीका कानुनमन्त्रीले यस मामिलामा ९ जनालाई पक्राउ गरिएको बताए । पक्राउ पर्नेमा रिसोर्टका मालिक पनि छन् ।
स्थानीय समय अनुसार मंगलबार बिहान बोलुमा रहेको १२ तले ग्राण्ड कार्टेल होटलमा आगलागी भएको हो । होटलमा २३४ जना बसेका थिए ।
बोलु टर्कीको राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ।
स्थानीय रिपोर्टका अनुसार अत्यधिक कम तापक्रमका कारण दमकललाई घटनास्थलमा पुग्न एक घण्टाभन्दा बढी समय लागेको थियो।