
टिकटक बनाउने क्रममा एक जनालाई सिंहले आक्रमण गरेको छ । आक्रमणबाट उनी नराम्ररी घाइते भएका छन् ।
घटना पाकिस्तानको पञ्जाबको हो ।
सिंह प्रजनन फार्ममा भिडियो बनाउने क्रममा ती व्यक्तिमाथि हमला भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गम्भीर घाइते भएपछि उनलाई जिन्ना अस्पतालमा भर्ना गरिएको छ ।
एनडीटीभी वर्ल्डको रिपोर्टअनुसार घाइते व्यक्तिको नाम मोहम्मद अजीम हो। अजिम मालिक मियाँ उमर डोलालाई न सोधी एउटा ‘भाइरल’ भिडियो रेकर्ड गर्न सिंहको खोरमा पसेका थिए । तर, फोन लिएर नजिक पुग्नेवित्तिकै सिंहले उनलाई आक्रमण गरेको समाचारमा उल्लेख छ । सिंहको आक्रमणबाट उनको टाउको, अनुहार र हातमा चोट लागेको छ ।
अजिम चिच्याएको सुनेर फार्मका मालिक उनलाई बचाउन आएका थिए । उपचारपछि उनको अवस्था अहिले सामान्य रहेको बताइएको छ । पञ्जाब वन्यजन्तुका महानिर्देशकले प्रजनन फार्म मालिक मियाँ उमर डोलालाई कानुनी कारबाही गर्न आदेश दिएका छन् ।