
लुम्बिनी प्रदेशमा प्रमुख सचिवको जिम्मेवारी बाबुराम अधिकारीले सम्हालेका छन् ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका (देउखुरी)मा प्रमुख सचिव अधिकारीको स्वागत गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अणप्रसाद न्यौपाने, ईश्वरराज पौडेललगायत कर्मचारीहरूले प्रमुख सचिव अधिकारीको स्वागत गरेका हुन् ।
जिम्मेवारी सम्हाल्दै प्रमुख सचिव अधिकारीले स्थानीय निजामती सेवा नियमावलीको मस्यौदा तर्जुमा र प्रदेश निजामती सेवा नियमावली, २०८० मा आवश्यक संशोधनका लागि कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
स्थानीय निजामती सेवा ऐन २०८१ तर्जुमा र प्रदेश निजामती सेवा ऐनमा आवश्यक संशोधन भइसकेको छ । अव दुवै ऐन कार्यान्वयनको लागि नियमावली बनाउन थालिएको हो ।
प्रदेश सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।
जसका सदस्यहरूमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारी प्रशासन शाखाका उपसचिव, शासकीय सुधार तथा समन्वय शाखाका उपसचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव सदस्य र मुख्यमन्त्री कार्यालयका कानून उपसचिव सदस्य सचिव रहेका छन् ।
यस अघि अधिकारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबारमा कार्यरत थिए ।