
चार जना नेपालीसहित १३ जनाको मृत्यु हुनेगरी भारतमा भएको रेल दुर्घटनाबारे एक खुलासा भएको छ ।
बुधबार महाराष्ट्रको जलगाउँ नजिकै भएको दुर्घटनामा आगलागीको हल्ला नै प्रमुख कारण रहेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पुष्पक एक्सप्रेस रेलमा एक चियावालाले आगो लागेको अफवाह फैलाएपछि यात्रुहरूमा त्रासको स्थिति उत्पन्न भयो।
यात्रुहरूले डराएर चेन तान्न थाले र ट्रेनबाट हाम्फाल्न थाले। यसैक्रममा केही यात्रुहरू छेउको ट्र्याकमा आइरहेको कर्नाटक एक्सप्रेसको रेलकोमुनि परे ।
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारले बिहीबार यो घटनाको पुष्टि गरेका छन्। उनले भने, ‘जलगाउँ ट्रेन दुर्घटना एक अफवाहका कारण भएको थियो। वास्तवमा, एक चियावालाले ट्रेनभित्र आगो लागेको झूटा खबर दिएको थियो । जसका कारण यात्रुहरू आत्तिए र ट्रेनबाट हाम्फाल्न थाले।’
यो दुर्घटना लखनऊ-मुम्बई चल्ने पुष्पक एक्सप्रेसमा भएको थियो। केही यात्रुहरूले अलार्म चेन तानेर ट्रेन रोकेपछि बाहिर निस्कने निर्णय गरेका थिए। उनीहरू जलगाउँ जिल्लामा अर्को ट्र्याकमा आइरहेको बेंगलुरु-दिल्ली कर्नाटक एक्सप्रेसको रेलको चपेटामा परे। दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु भएको छ । यसमध्ये १० जनाको पहिचान खुलेको छ ।
उपमुख्यमन्त्री पवारले बताए अनुसार एक चियावालाले पेन्ट्रीबाट चिच्याउँदै भनेको थियो कि ट्रेनको डिब्बामा आगो लागेको छ। उत्तर प्रदेशको श्रावस्तीका दुई यात्रुले यो कुरा सुने र अरूलाई खबर गरे। यसैले गर्दा अफवाह फैलियो र यात्रुहरू त्रसित भए।
‘आत्तिएका यात्रुहरूले ट्रेनबाट हाम्फालेर आफूलाई बचाउन खोजे। ट्रेनको गति तीव्र भएको कारणले एक यात्रुले अलार्म चेन ताने। जब ट्रेन रोकियो, यात्रुहरू तल झरे तर उनीहरू कर्नाटक एक्सप्रेसको चपेटामा परे। टक्कर यति जोरदार थियो कि धेरैको घटनास्थलमै मृत्यु भयो र शव क्षतविक्षत अवस्थामा भेटिए’, उपमुख्यमन्त्री पवारले भने ।