
काठमाडौं, ३ मंसिर – पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको असामायिक निधन भएपछि यतिबेला उनलाई श्रद्धाञ्जली दिन थुप्रै नेता नर्भिक अस्पताल पुगेका छन् । हृदयाघातका कारण मृत्यु भएको भनिएका प्रकाश दाहाल केही दिनदेखि सामान्य बिरामी थिए । बिरामी भएका कारण उनी चुनावको प्रचारमा समेत निस्केका थिएनन् ।
प्रकाश दाहालको आकस्मिक मृत्युपछि उनका शुभेच्छुकले विभिन्न माध्यमबाट उनलाई श्रद्धाञ्जली दिएका छन् । त्यस्तै कलाकारले पनि प्रचण्ड पुत्र प्रकाश दाहाललाई श्रद्धाञ्जली दिएका छन् ।
नायिका रेखा थापा नर्भिक अस्पतालमा पुगेकी छिन् । साथै उनले प्रकाशको आकस्मिक मृत्युले आफू दुःखी भएको बताएकी छिन् । उनले फेसबूकमा लेखेकी छिन्, ‘प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तब्ध भएकी छु ।’
त्यस्तै नयाँ शक्तिकी नेतृ करिष्मा मानन्धरले नयाँ शक्तिका डा. बाबुराम भट्टराईले श्रद्धाञ्जली दिएको पोस्ट शेयर गर्दै श्रद्धाञ्जली लेखेकी छिन् ।
त्यस्तै लेखक तथा विश्लेषक आहुतीले सामाजिक सञ्जालमा फेसबूकमा लेखेका छन्, ‘नपत्याई नहुने रहेछ, हार्दिक श्रद्धाञ्जली प्रकाश दाहाल ।’
गयक प्रमोद खरेलले पनि प्रकाश दाहालको मृत्यु अपत्यारिलो भएको प्रतिक्रिया दिएका छन् । ‘कुनै शब्द छैन, नराम्रो र अपत्यारिलो समाचार ।’, उनले फेसबूकमा लेखेका छन् । त्यस्तै अर्जुन पोखरेलले पनि फेसबूकमा प्रकाशको चीर शान्तिको कामना गरेका छन् ।
प्रकाश दाहालको निधनको खबरको कुरा गर्दै चीर शान्तिको कामना गर्दै अभिनेत्री अश्लेषा ठकुरी, कारखानाका निर्देशक अमरदीप सापकोटा लगायत अन्य कलाकारले पनि प्रकाश दाहालको निधनमा दुःख व्यक्त गरेका छन् ।