०९ साउन २०८३, शनिबार
अदालतको फैसलासिर्जित अन्योल

‘सर्वोच्चको फैसलाले जलविद्युतमा नेपाललाई दुई दशक पछाडि धकेल्दैछ’

माघ १६, २०८१
काठमाडौं
‘सर्वोच्चको फैसलाले जलविद्युतमा नेपाललाई दुई दशक पछाडि धकेल्दैछ’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को (दफा ५ र दफा ६ मा भएको संशोधन) खारेजी गर्ने गरी सर्वोच्च अदालतले गत माघ २ गते गरेको फैसलाले ऊर्जा क्षेत्र मात्रै प्रभावित नभएर सम्पूर्ण नेपाली जनताको लगानी प्रभावित हुने देखिएको छ । 

सर्वोच्च अदालतको संवैधानिक इजलासबाट फैसला भएर करिब १९ हजार मेगावाट क्षमताका २१७ वटा आयोजना प्रभावित भएका छन् । यसका साथै सर्वेक्षणमा रहेका, काम अगाडि बढिसकेका र विद्युत् खरिद सम्झौता (पीपीए) हुन बाँकी गरी कुल करिब ४० हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनामा अन्योल सिर्जना भएको छ ।

अदालतको यस फैसलालाई पुनर्विचार गरिएन भने देशका सम्पूर्ण विकासका कामहरू ठप्प हुन्छन्, जसको परिणामस्वरूप देश २० वर्षपछि धकेलिन्छ ।  निजी क्षेत्रबाट मात्र हालसम्म २७ सय ४० मेगावाट बराबरका १९० आयोजना निर्माण सम्पन्न भैसकेका छन् ।

४ हजार ६३ मेगावाट बराबरका १४१ आयोजना निर्माणाधीन र ४३ सय ६३ मेगावाट बराबरका १४१ आयोजना नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका छन् ।

झन्डै ६५ लाख नेपाली नागरिकको १३ खर्ब बढी रकम यस क्षेत्रमा लगानी भएको छ ।

अहिले एकातिर गत (२०८१) पुस १६ गते मन्त्रिपरिषद् बैठकबाट आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ स्वीकृत गरिएको छ भने अर्कातिर सर्वोच्च अदालतको एक फैसलाले सरकारको उक्त लक्ष्य र देशको जलविद्युत् क्षेत्रलाई अन्योलमा पारेको छ ।

अहिले एकातिर गत (२०८१) पुस १६ गते मन्त्रिपरिषद् बैठकबाट आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ स्वीकृत गरिएको छ भने अर्कातिर सर्वोच्च अदालतको एक फैसलाले सरकारको उक्त लक्ष्य र देशको जलविद्युत् क्षेत्रलाई अन्योलमा पारेको छ । 

अन्योलताको कारण वन क्षेत्र हो । वनको समस्या पहिलेदेखि नै ठूलो समस्याका रूपमा थियो । वनको सरकार नै फरकजस्तो देखिन्छ । नेपाल सरकार र वन मन्त्रालय छुट्टै भएको अनुभूति हुने गरेको छ । वनका ऐनहरू निकै झञ्झटिला र समस्याले भरिएका थिए । त्यसमा सरकारले सुधारसहित अध्यादेश ल्याएर सार्वभौम सांसदबाट पास गरेको विधेयक पनि अहिले बाझियो भनेर खारेज गरिदिएको छ । खारेज भएपछि अब के हुने भने भन्ने कुरा अन्योलमा छ । 

६५ लाख नेपालीहरूले लगानी गरेका परियोजनाको के हुने हो ? अब यसको भविष्य के हुन्छ ? यो पूरा हुन्छ कि हुँदैन ? यति धेरै ट्रान्समिसन लाइनहरू बनाउनुपर्ने छ । ती ट्रान्समिसन लाइनहरू बन्छन् कि बन्दैनन् ? बने पनि कुन कानूनअनुसार बन्छन् ? यस्ता प्रश्न खडा भएका छन् । 

धेरै परियोजना बनाउनका लागि अघि बढिसकेको अवस्था छ । अहिले झन्डै १३ खर्ब बढीको लगानी भइसकेको छ । अगाडि बढिसकेका प्रोजेक्टबाट विद्युत् उत्पादन शुरू हुँदा ट्रान्समिसन लाइन भएन भने के हुन्छ ? वन तथा वातावरणका कारणले, राष्ट्रिय निकुञ्जका कारणले प्रसारण लाइन बन्न सकेन भने उत्पादन भएको विद्युत् खोलामै बगाउनुपर्छ । 

नेपाली जनताले गरेको लगानी के हुन्छ ? बैंकहरूले लगानी गरेका छन् । बैंकहरूले गरेको लगानी के हुन्छ ? यसको जवाफ राज्यले नै दिनुपर्ने हुन्छ । 

सरकारले संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माणसम्बन्धी कार्यनीति, २०६५ का आधारमा सम्पूर्ण आयोजनाहरूलाई अध्ययन सहमति दिँदै आयोजनाहरू बन्दै गइरहेका थिए । 

२०७८ जेठ १३ गते मन्त्रिपरिषद्को बैठकले उक्त कार्यनीतिलाई संशोधन गर्‍यो । र, संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट पर्‍यो । 

सरकारले राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनालाई अघि बढाउन पाउने गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधन गरेको थियो । सरकारले गरेको उक्त संशोधनविरुद्धको फैसलाले आयोजनाहरूलाई अन्योलमा पारेको छ । 

सरकारले २०४९ सालमा निजी क्षेत्रलाई पनि जलविद्युतमा लगानी गर्नका लागि अनुमति दियो । करिब ९ वर्षपछि २०५८ सालदेखि पीपीए भएर जलविद्युत् आयोजनाहरू अगाडि बढे । शुरूआति चरणमा स–साना आयोजनाहरू अगाडि बढ्दै गए । 

जलविद्युत् क्षेत्रमा लगानी बढ्दै गयो । निजी क्षेत्रले पनि यस क्षेत्रमा लगानी बढाउँदै लगे । विद्युत् खरिद सम्झौता (पीपीए) पनि खुल्दै गए । सरकारबाट परियोजनाका लागि लाइसेन्स पनि धेरै बाँडिएका थिए । तर, सरकारले जोसकैलाई लाइसेन्स नदिन र कडाइ गर्न शुरू गर्‍यो । २०७५ सालदेखि लाइसेन्स लिए, तर थुप्रै परियोजनाहरूको पीपीए भएन । 

लाइसेन्स लिएको ५ वर्षभित्र जेनरेसन लाइसेन्स लिनुपर्ने प्रावधान छ । त्यति बेला सरकारबाटै पीपीए भएन । पीपीए नभए पनि जलविद्युत् क्षेत्रमा बढी लगानी गर्ने कुरा भए । समयमा काम नहुँदा कतिपयको लाइसेन्स रद्द पनि हुन थाल्यो । पीपीए नभएर लाइसेन्स रद्द भएकाहरूको लगानी खोलामै बग्यो भन्दा फरक पर्दैन । 

हामीले २०४९ सालको ऐनअनुसार यस क्षेत्रमा लगानी गरेका थियौं । त्यतिबेला जे ऐनमा थियो, त्यहीअनुसार लगानी गरेका हौं । त्यतिबेला त्यसमा प्रस्टसँगै लाइसेन्सको समयावधि ५० वर्ष हुनेछ भन्ने कुरा थियो । र, ५० वर्षपछि सोही आयोजनालाई दिइनेछ भन्ने कुरा स्पष्ट छ । पीपीए थोरै समयमा भएता पनि लाइसेन्सको समय सोही आयोजनाको हो भन्ने बुझाइले लगानी गरिएको हो । 

अहिले लगानी गरेका ६५ लाख नेपाली जनताले पनि त्यही बुझाइले लगानी गरेका हुन् । भोलिका दिनमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन हुँदा १ करोड जनताको लगानी पुग्छ । अब यो १ करोड नेपालीको लगानी हुँदा पहिलेको ऐनअनुसार लगानी गरेको भए पनि अहिले नयाँ ऐन बनायौं, त्यसै अनुसार हुनुपर्छ भन्नु जायज हुन्न ।

नयाँ कानूनले सारा नेपालीको लगानीलाई शून्य गरिदिएपछि त्यसको प्रभाव के होला ? राज्यले त्यसको ठूलो मूल्य चुकाउनुपर्छ । त्यसैले यस्ता विषयमा स्पष्ट उल्लेख गरिदिनुपर्छ । होइन भने जनताहरूलाई भनिदिनुपर्छ, बुझाइदिनुपर्छ । 

विद्युत आयोजना– प्रतीकात्मक तस्वीर

अहिले पनि सरकारले लाइसेन्स बाँडेको छ । तर, पीपीए नखोल्ने हो भने कयौं नेपालीको लगानी कहिलेसम्म होल्ड गरेर राख्ने ? कि पहिल्यै निश्चित परियोजनाहरू मात्रै बनाउन भनेको भए हुन्थ्यो । भोलिका दिनमा झोलामा भएको नेपाली जनताको पैसा खोलामा बग्ने स्थितिमा पुग्छ । जनता डुब्नु भनेको राज्य नै डुब्नु हो । 

भोलिका दिनमा पनि वन ऐन, वातावरण ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐनलगायतका कारण यस्तै रह्यो भने १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न सम्भव छैन । एउटै फाइल स्वीकृत गर्न २/३ वर्ष लगाइदिएपछि कुनै पनि आयोजना तोकिएको समयमा सम्पन्न हुँदैनन् । त्यसैले लिइएको लक्ष्यको डेडलाइन तोकिनुपर्छ । अहिलेकै गतिमा काम हुने हो भने २८ हजार त परको कुरा २८ सय मेगावाटको काम पनि सम्पन्न हुँदैन । 

समय एकदमै कम छ । अहिलेकै गतिमा जाने हो भने कुनै पनि हालतमा लक्ष्यको आधा पनि काम सम्पन्न हुँदैन । सरकार यसमा एग्रेसिभ्ली अगाडि बढ्नुपर्छ । अब २४ सै घण्टा काम गर्नुपर्ने दिन आइसकेको छ । सरकारका विभिन्न निकाय, विभागहरूमा ऐन कानूनहरू सुधार्दै जानुपर्ने छ । छोटो समयमा धेरै काम गर्नका लागि झञ्झटिलो प्रक्रियालाई छोट्ट्याउनुपर्छ ।

नीतिगत सुधारहरू पनि थुप्रै गर्नुपर्ने छ । सरकारले काम गर्नका लागि भन्ने तर एउटा सानो काम पनि सरकारको तर्फबाट भइदिएन भने पूरै काम रोकिने अवस्था हुन्छ । सरकारले दौडिनुपर्छ भनेको छ । तर, सरकारका विभागहरूमा समस्या छन् । 

सम्मानित अदालतले फैसला गर्दा विकासका कुराहरूलाई पनि जोडेर गरेको भए अहिलेको जस्तो अन्योलता हुने थिएन । यस्ता विषयमा अदालतले पनि पुनर्विचार गर्नुपर्छ भन्ने हाम्रो आग्रह हो ।

नेपाल सरकारले निर्णय गरेपछि सरकारका निकायहरूले उक्त निर्णयविपरीत गर्दा लगानीमैत्री वातावरण बन्छ कि बन्दैन भन्ने प्रश्न खडा हुन्छ । सबै प्रोजेक्टहरू पहाडमै हुन्छन्, तराईमा हुँदैनन् । पहाडमा वनजंगल र राष्ट्रिय निकुञ्जमा नपरेका कुनै पनि प्रोजेक्ट छैनन् । त्यसैले कुनै पनि क्षेत्रमा काम गर्न सक्ने वातावरण छैन ।

अहिले पीपीए नखोल्दै झन्डै ११ हजार बन्दै गरेका प्रोजेक्टले स्वीकृत पाए भने पनि ट्रान्समिसन लाइन लामो क्षेत्रसम्म जाने हो । ट्रान्समिसन लाइन वन या निकुञ्ज क्षेत्रबाटै जानेबाहेक विकल्प छैन । यसले आयोजना बन्ने तर ट्रान्समिसन लाइन नबन्ने अवस्था हुन्छ । भोलिका दिनमा विद्युत् उत्पादन गरेर पनि भारत तथा बंगलादेशमा बेच्न नसक्ने अवस्था आउँछ । 

यसलाई प्रोजेक्टको रूपमा मात्रै हेर्नुहुँदैन, विकास निर्माणसँग पनि जोडेर हेर्नुपर्छ । बाटो नपुगेको ठाउँमा हामीले प्रोजेक्ट बनाउँदा बाटो बनाइदिनुपर्ने हुन्छ । हाम्रा प्रोजेक्ट दुर्गम क्षेत्रमा बन्ने हुन् । त्यसैले हामीले निर्माण गर्ने पूर्वाधारहरू जनताले पनि प्रयोग गर्न पाउँछन् । 

जुन गतिमा सरकारले अहिले अध्यादेशमार्फत कानून संशोधन गरेको छ, त्यही गतिमा यस क्षेत्रमा पनि कानूनहरू बनाउने निर्णय गर्न ढिला गर्नुहुँदैन ।

समाधान के ? 

सरकारले कानूनमा सुधार गर्नुपर्छ । कम्तीमा विकासका आयोजनाहरू तोकेरै तिनलाई असर नपर्ने गरी प्रस्टसँग उल्लेख गरी पूर्णपाठ आएमा अहिलेका लागि बाटो खुल्ने थियो । र, पछिका लागि छुट्टै ऐन बनाएर अघि बढ्दा सजिलो हुने देखिन्छ । सरकारले पनि सम्मानित अदालतसमक्ष रिक्वेस्ट लिएर जानुपर्छ । 

अहिले संसद् खुल्न लागेको छ । भएन भने सांसदबाटै सबै दलहरू विकासका लागि एक ठाउँमा आएर अगाडि बढ्नुपर्छ । नत्र देशका सम्पूर्ण विकासका काम ठप्प हुन्छन् । यसबाट देश २० वर्ष पछाडि धकेलिन्छ । देश विकासमा हामी दुई दशक पछाडि पर्छौं । 

यस क्षेत्रमा एउटा प्रोजेक्ट स्वीकृति तथा बनाउनका लागि १५/१६ वटा मन्त्रालय धाउनुपर्ने कानून छन् । त्यसलाई कम्तीमा ऊर्जा मन्त्रालयबाटै सबै हुने नीतिगत व्यवस्था गरिदिनुपर्छ । अध्यादेश ल्याएरै भए पनि रोकिएको काम शुरूआत गर्ने बाटो खुलाइदिनुपर्छ भन्ने हाम्रो कुरा थियो । अब संसदबाट कानूनमा संशोधन गर्ने तथा नयाँ कानून बनाउने काम गर्दै जानुपर्छ । यो गर्दैगर्दा न्यायपालिकाको पनि सहयोग आवश्यक देखिन्छ । देश विकाससँग जोडिएको भएर बाटोमा हिँडिरहेको व्यक्तिको भनौं अथवा नबुझेको व्यक्तिको निवेदनको भरमा सुनुवाइ नगर्ने खालको व्यवस्था गर्नुपर्छ । यो गर्न सक्यौं भने देश विकासले गति समात्न सक्छ । 

जुन गतिमा सरकारले अहिले अध्यादेशमार्फत कानून संशोधन गरेको छ, त्यही गतिमा यस क्षेत्रमा पनि कानूनहरू बनाउने निर्णय गर्न ढिला गर्नुहुँदैन । निजी क्षेत्रलाई आह्वान गर्नुपर्छ । विदेशी लगानी ल्याउनका लागि वातावरण बनाइदिनुपर्छ । हामीले सुझाव दिएका छौं, सरकारले एउटा क्षेत्र मात्रै नभएर समग्र क्षेत्रलाई सम्बोधन गर्ने नीतिगत सहजीकरण गर्न सक्यो भने सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्न सक्छौं ।

(इप्पान अध्यक्ष कार्कीसँग लोकान्तरका लागि अंकुश विष्टले गरेको कुराकानीमा आधारित ।)

salt training

कमेन्ट गर्नुहोस्