१३ असार २०८३, शनिबार

वासिङ्टन विमान दुर्घटना : भेटियो ब्ल्याक बक्स, एयर ट्राफिक कन्ट्रोलरका कारण दुर्घटना निम्तिएको आशंका

माघ १८, २०८१
काठमाडौं
वासिङ्टन विमान दुर्घटना : भेटियो ब्ल्याक बक्स, एयर ट्राफिक कन्ट्रोलरका कारण दुर्घटना निम्तिएको आशंका

अमेरिकाको वासिङ्टन डीसी नजिकैको रोनाल्ड रेगन नेशनल एयरपोर्टमा यात्रुवाहक जहाज र अमेरिकी सेनाको हेलिकोप्टर ठोक्किएपछि भएको भीषण दुर्घटनामा कम्तीमा ४० जनाको शव फेला परेको छ ।

खोजी तथा उद्धार कार्यमा संलग्न अधिकारीहरूले अन्य केही अवशेष पनि बरामद गरेको जनाएका छन् ।

दुर्घटनाको अनुसन्धान जारी रहँदा विमानको ककपीट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर (ब्ल्याक बक्स) भेटिएको छ ।

यी उपकरणहरू थप अनुसन्धानका लागि राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा पठाइएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार, दुर्घटनाको समयमा एयर ट्राफिक कन्ट्रोल टावरमा हवाई सञ्‍चालनलाई व्यवस्थित गर्नुपर्ने भन्दा कम कर्मचारी थिए ।

सामान्यतया, व्यावसायिक विमानको अवतरण र हेलिकोप्टरको सञ्चालनका लागि दुई जना फरक एयर ट्राफिक कन्ट्रोलर खटिनुपर्छ ।

तर, दुर्घटनाका बेलामा एउटा मात्र कन्ट्रोलरले दुवै काम गरिरहेको पुष्टि भएको छ ।

न्यूयोर्क टाइम्सले प्रकाशित गरेको एक रिपोर्टअनुसार एयर ट्राफिक कन्ट्रोल सुपरभाइजरले निर्धारित समयभन्दा पहिले नै अर्का एक कन्ट्रोलरलाई घर जान अनुमति दिएका थिए, जसले गर्दा नियमन प्रक्रियामा गम्भीर त्रुटि हुन पुगेको आशंका गरिएको छ ।

दुर्घटनापछि तत्काल उद्धार कार्य शुरू गरिए पनि दुर्घटनास्थलबाट कुनै जीवित व्यक्ति फेला पार्न सकिएको छैन ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनाबारे प्रतिक्रिया दिँदै हवाई सुरक्षा नीति पुनरावलोकन गर्ने घोषणा गरेका छन् ।

उनले पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनमा लागू गरिएको विविधता, समानता र समावेशीकरण नीतिलाई दुर्घटनासँग जोड्दै आलोचना गरे ।

ट्रम्पले एक पत्रकार सम्मेलनमा भने, 'यो दुर्घटना कुन कारणले भयो भन्ने अनुसन्धान भइरहे पनि हवाई नियन्त्रण प्रक्रियामा गम्भीर कमजोरी देखिन्छ ।'

यस घटनापछि संघीय उड्डयन प्रशासनको व्यवस्थापन र एयर ट्राफिक कन्ट्रोल टावरको कर्मचारी नीति विवादमा तानिएको छ ।

केही विशेषज्ञले कर्मचारी अभावलाई मुख्य कारण ठानेका छन् भने अन्य केहीले हवाई नियन्त्रण प्रक्रियामा भएका सम्भावित त्रुटिहरूलाई दोष दिएका छन् ।

अमेरिकी अधिकारीहरूले विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिरहेको छन्, जसबाट दुर्घटनाको वास्तविक कारण उजागर हुने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्